बिरगंज, २३ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता (एमओयू) औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौता २०८२ माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रममा कार्यरत कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य आवश्यक चिकित्सकीय परामर्शहरू विशेष सहुलियतसहित उपलब्ध गराउनेछ ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी र मानवसेवा आश्रमका तर्फबाट संरक्षक देवेश प्रसादले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक सहनवाज अन्सारी, सूचना प्रविधि प्रमुख (CIO) ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस सहकार्यबाट समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ । नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत “सेवा भन्दा पनि पर” (Service Beyond) भन्ने भावनासहित समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !