जनकपुरधाम, २४ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजको छविले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढिरहेको दाबी गरेका छन्। सप्तरी–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “हाम्रो सप्तरी जंगलराजबाट परिचित छ। यहाँ गुण्डाराज, दमन, शोषण, गाउँ–गाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दा–मामिला र प्रशासनिक ढिलाइ प्रायः आम जीवनको हिस्सा बनेको थियो। सप्तरी पूरा देशभर मुद्दा–मामिलाका लागि परिचित थियो।” राउतले थपे, “तर अब हामी चाहन्छौँ–त्यो जंगलराज, गुण्डाराज हटाएर विकास, आधुनिकता र अन्तरीक्ष युगतर्फ सप्तरीलाई अघि बढाउन। हामी शान्ति, समृद्धि र सुशासनको बाटोमा हाम्रो जिल्लालाई लैजान चाहन्छौँ।”
उनले आफ्नो नेतृत्वमा जनमत पार्टीले सप्तरीमा विकास र समृद्धिको मार्गमा ठोस काम गरेको दाबी पनि गरेका छन्। राउतले जनमत सरकार रहेकै बेला जिल्लामा पूर्वाधार विकास, सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रका काम अघि बढेको उल्लेख गरे। उनका अनुसार, यी परियोजनाले आम नागरिकको जीवनस्तर सुधार्न सहयोग पुर्याएको छ।
अध्यक्ष राउतले आफ्नो उम्मेदवारीको पक्षमा मतदातालाई आग्रह गर्दै भनेका छन् कि, “सही नेतृत्व छानेर मात्र सप्तरीलाई वास्तविक विकास र आधुनिक युगतर्फ लैजान सकिन्छ। तपाईंको मतदानले मात्रै पुरानो भ्रष्टाचार र शोषणको प्रणाली हटाएर नयाँ सम्भावनाहरू जन्माउने अवसर दिन्छ।”
भिडियो सन्देशमा राउतले स्थानीयस्तरमा सहकार्य, सामुदायिक विकास र जनता सहभागितामार्फत सप्तरीलाई समृद्ध र सुशासनयुक्त जिल्लाका रूपमा अगाडि बढाउने योजना पनि प्रस्तुत गरेका छन्। उनका अनुसार, जंगलराजको छवि अन्त्य गर्दै जिल्लालाई प्रगतिशील र आधुनिक बनाउने लक्ष्य जनमत पार्टीको पहिलो प्राथमिकता हो।
सप्तरी–२ का मतदाताले अब आफ्नो मतदाताको निर्णयमार्फत भविष्यको विकासको दिशा निर्धारण गर्नुपर्ने अवस्थामा पुगेका छन्।





