सप्तरी, २८ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्याप्त राजनीतिक अन्यौलता लाई समाप्त पार्न तथा संकट हटाउन संविधान संशोधन र पुनर्लेखनको बिकल्प नरहेको बताएका छन ।
बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । अल्पविकसित मुलुकमा राजनीतिक अस्थिरताले आर्थिक अवस्था सुध्रन नसकेकोे तथा विकासले गति लिन नसकेको उदाहरण दिदै उनले नेपालमा पनि संविधान संशोधन र पुनर्लेखन गरेर सच्चाउन आवश्यक रहेकोमा जोड दिए ।
संविधानमा गरिएको समावेशिताको व्यवस्था पछाडी पारिएका तथा सिमान्तकृतहरुलाई उकासनका लागि रहेको भएपनि शासकवर्गले नै त्यसबाट बढी फाइदा लिई रहेको उनको भनाई छ ।
मधेशमा ६० प्रतिशत जनसंख्याको ठुलो हिस्सा बसोबास रहेको भएपनि त्यस अनुपातमा निर्वाचन क्षेत्र नरहेको उल्लेख गर्दै उनले भने “यसका लागि पनि संविधान संशोसधन र पुनर्लेखन आवश्यक छ ।”
मुलुकमा दलहरुबीच रहेको राजनीतिक द्वन्द्वका कारण पनि समस्या बढेको उनको कथन छ । विगत ३५÷३६ बर्ष देखि सरकार बन्ने र ढल्ने खेल चलिरहनाले विकासमा बाधा पर्नुका साथै जनताले पनि परिवर्तनको आभाष पाउन नसेको उनको भनाई थियो ।
जसपा नेपालका अध्यक्ष यादव सप्तरीको क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका छन् ।





