काठमाडौं, १४ माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको १० दिनभित्रै १५ जना व्यक्ति तथा संस्थासँग स्पष्टीकरण मागेको छ। आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको हो।

आयोगका अनुसार मंगलबारसम्म १५ वटा स्पष्टीकरण पत्र जारी गरिएका छन्। स्पष्टीकरण सोधिएकामध्ये अधिकांश चर्चित राजनीतिक नेता तथा उम्मेदवार रहेका छन्।

स्पष्टीकरण बेहोर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ०, नेकपाका नेता शक्ति बस्नेत, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जनसेवा पार्टीका रुपन्देही–२ का उम्मेदवार कमल भुसाल ९निकोलस० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का काठमाडौं–४ का उम्मेदवार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी रहेका छन्।

कसलाई के आरोप ?

 

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ अभिव्यक्ति दिएको आरोपमा उजुरी परेको छ। झापा–५ मा प्रतिस्पर्धी रहेका ओली र बालेनबीच सार्वजनिक बहसको विषयलाई लिएर विवाद भएको थियो।

एमाले सचिव महेश बस्नेतमाथि मैथिली भाषाको ‘छौरा’ शब्दलाई गलत अर्थ लगाएर समुदायमाथि चोट पुर्‍याएको आरोप लागेको छ। सो विषयमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

नेकपाबाट जाजरकोटमा उम्मेदवार रहेका शक्ति बस्नेतमाथि मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूलाई पैसा बाँडेको भिडियो सार्वजनिक भएपछि उजुरी परेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि झापा–५ मा एमाले अध्यक्ष ओलीको मनोनयनका क्रममा सरकारी सवारी साधन प्रयोग गरेको आरोप लागेको छ।

त्यसैगरी हर्क साम्पाङमाथि बालबालिका प्रयोग गरी प्रचार गरेको, कमल भुसाल ९निकोलस०माथि रगतले लतपतिएको जुत्ताको तस्बिर प्रयोग गरेर मत मागेको तथा खगेन्द्र सुनार र सुरेन्द्र भण्डारीमाथि विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उजुरी परेको छ।

दुई जनाले बुझाए स्पष्टीकरण

निर्वाचन आयोगका सह–प्रवक्ता सीता पुन श्रीसका अनुसार हालसम्म शक्ति बस्नेत र जगदीश खरेलले मात्र स्पष्टीकरण बुझाएका छन्। आयोगले तीन दिनभित्र जवाफ दिन समय दिएको र हालसम्म कसैलाई पनि कारबाही नगरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !