जनकपुरधाम २२ चैत । जनकपुरधाम मा सम्पन्न वडा स्तरीय “यूरो पेन्ट्स वडा कप क्रिकेट प्रतियोगिता २०८२” को उपाधि वडा नं. १४ ले हात पारेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा वडा नं. १४ ले वडा नं. १७ लाई ७ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. १७ ले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। निर्धारित २० ओभरमध्ये १९.३ ओभरमै सबै विकेट गुमाउँदै टोलीले १०९ रनमा समेटियो। टोलीका लागि प्रदीपले सर्वाधिक ३९ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे भने अविषेकले १८ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानहरू वडा नं. १४ को अनुशासित र प्रभावकारी बलिङसामु टिक्न सकेनन्।
वडा नं. १४ का राजीव यादवले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ५ विकेट लिए। त्यस्तै, रुपेश यादव र राहुल यादवले समान २–२ विकेट लिँदा कृषमोहनले १ विकेट हात पारे।
सामान्य लक्ष्य पछ्याएको वडा नं. १४ ले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै १०.४ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। रुपेश यादवले शानदार ४५ रन बनाए भने राजा यादवले ३१ रनको महत्वपूर्ण योगदान दिए। अन्तिमतर्फ चन्दन १५ रनमा अविजित रहँदा आकाश यादव ७ रनमा नटआउट रहेर टोलीलाई जित दिलाए।
प्रतियोगितामा राजीव यादव ‘म्यान अफ द म्याच’ घोषित भए भने पंकज यादव ‘बेस्ट ब्याट्सम्यान’ बने। त्यस्तै, अनिकेत यादव ‘बेस्ट बलर’ घोषित हुँदा रुपेश यादव ‘म्यान अफ द सिरिज’ चुनिए।
विजेता वडा नं. १४ ले ट्रफीसहित रु २५ हजार नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता वडा नं. १७ ले ट्रफीसहित रु १५ हजारमा चित्त बुझायो। उक्त नगद पुरस्कार जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले व्यक्तिगत रूपमा प्रदान गरेका थिए।
समापन समारोहमा बोल्दै मेयर साहले खेलकुदसँगै शिक्षामा पनि समान ध्यान दिनुपर्नेमा जोड दिँदै नियमित खेलले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रमका अध्यक्ष अम्भु प्रसाद साहले वडा कपजस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
प्रतियोगितामा कुल १८ वडाका टोलीहरूको सहभागिता रहेको थियो। यसले स्थानीय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउनुका साथै नयाँ खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
वडा नं. १४ को उत्कृष्ट प्रदर्शनसँगै सम्पन्न यस प्रतियोगिताले जनकपुरधाममा क्रिकेट विकासमा थप ऊर्जा प्रदान गरेको खेलप्रेमीहरूको विश्वास छ।





