काठमाडौं , २३ मंसिर । ‘टिओबी’ समूहका कमाण्डर भनेर चिनिने तेन्जिङ दावा लामा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनलाई मंगलबारे थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले पुष्टि गरेका छन्।
तेन्जिङ दावामाथि नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुरसँगै लागुऔषध मुद्दामा समेत प्रहरीको अनुसन्धान चलिरहेको थियो। अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो। अदालतले पेशीमा दाबी–प्रमाणका आधारमा धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
तिब्बतीयन मूलका तेन्जिङले २०१७ मा बौद्ध क्षेत्रमै ‘टिओबी ट्याटु हाउस’ सञ्चालनमा ल्याएका थिए। पछिल्ला महिनामा जेनजी आन्दोलनका क्रममा उनी र उनको समूह विवादमा तानिएको थियो। भदौ २३ र २४ गते बुलेट मोटरसाइकल हुइँक्याउँदै उच्छृङ्खल गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि समूहलाई प्रहरीले निगरानीमा राख्दै आएको छ।
‘टिओबी’को अर्थ ‘त्ष्दभतबल इचष्नष्लब िद्ययियम’ हो। कमाण्डरका रूपमा तेन्जिङ दावालाई पहिचान गरिए पनि समूहका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोल मोडलका रूपमा सम्मान गर्ने गरेको प्रहरीको बुझाइ छ।
एसपी भट्टराईका अनुसार समूहमा करिब ५७ जना सदस्य सक्रिय रहेको र उनीहरूलाई पछिल्ला हुलदंगा तथा सार्वजनिक सुरक्षालाई प्रभावित पार्ने गतिविधिमा संलग्न देखिएकाले प्रहरीले निरन्तर अनुगमन गरिरहेको छ।
तेन्जिङ दावालाई धरौटीमा रिहा गरिए पनि मुद्दा अदालतमा विचाराधीन रहेकाले अब सुनुवाइका क्रममा दोष–निर्दोषको टुंगो लाग्नेछ। सार्वजनिक स्थलमा डर–त्रास फैलाउने गतिविधि रोक्न प्रहरी प्रशासनले आवश्यक कडाइ गर्ने बताइएको छ।





