एजेन्सी, ३ चैत । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको खबर सार्वजनिक भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्।
उक्त हमलामा करिब ४०० जनाको मृत्यु भएको तथा २५० भन्दा बढी घाइते भएको जनाइएको छ। आक्रमणपछि काबुलका विभिन्न क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज सुनिएको स्थानीय स्रोतहरूले बताएका छन्।
रिपोर्टअनुसार दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रहरूमा शक्तिशाली विस्फोट भएको थियो।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित लागुऔषध पुनर्स्थापना अस्पतालमा समेत बमबारी गरेको आरोप लगाएका छन्। उनले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भएको बताएका छन्। साथै पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी पनि तालिबानले गरेको छ।
यता पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले भने तालिबानको आरोपलाई अस्वीकार गरेका छन्। उनले काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेका छन्।
पाकिस्तानको सूचना मन्त्रालयका अनुसार काबुल र नान्गारहार क्षेत्रमा रहेका केही सैन्य अड्डा, प्राविधिक उपकरण भण्डार तथा हतियार डिपोलाई लक्षित गरेर कारबाही गरिएको हो। ती स्थानहरूबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमणको योजना बनाइँदै आएको दाबी पाकिस्तानले गरेको छ।





