काठमाडौं , २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथो पटक विस्तार गर्दै आफूले सम्हाल्दै आएका पाँच मन्त्रालय घटाए पनि, उज्यालो नेपाल पार्टी खोलेर सक्रिय बन्दै गरेका ऊर्जा मन्त्री कुलमान घिसिङका शक्तिशाली तीन मन्त्रालय भने छोइनन्।

घिसिङ अहिले सरकारका सबैभन्दा ठूलो बजेट र प्रभाव भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास—तीनवटा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका छन्। राजनीतिक दल दर्ता गरी आगामी निर्वाचनमा प्रवेश गर्न लागेको चर्चा भइरहेका बेला पनि उनी आफ्नै जिम्मेवारीमा यथावत् छन्।

यसबीच, प्रधानमन्त्री कार्कीले आफ्नो ८ मन्त्रालयमध्ये ४ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेकी छन्।

श्रद्धा श्रेष्ठ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

कुमार इङ्नाम — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

राजेन्द्र सिंह भण्डारी — श्रम, रोजगार तथा सामाजिक सुरक्षा

माधव चौलागाईं — वन तथा वातावरण

त्यसैगरी, अनिलकुमार सिन्हा लाई उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन मन्त्रालयसँगै थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

दलका व्यक्तिलाई मन्त्री नबनाउने, चुनावमा नजाने र “नागरिक सरकार” को अवधारणा प्रस्तुत गर्दै आएकी प्रधानमन्त्री कार्कीले दल दर्ता गरिसकेका कुलमान घिसिङको मन्त्रालय भने नछोएकोप्रति टिप्पणी बढेको छ।

प्रधानमन्त्रीसँग हाल परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी छ। उनले सरकार गठनका बेला ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी थिइन्। तर मंसिर २६ सम्म आइपुग्दा मन्त्री संख्या १४ पुगेको छ।

अब आगामी ३ महिनामै निर्वाचन हुने बेला सरकार विस्तारको औचित्यबारे राजनीतिक वृत्तमा सक्रिय चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !