जनकपुरधाम, ०१ साउन । नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले रेल विभागअन्तर्गत कार्यरत २६ कर्मचारीलाई रेल्वे बोर्डमा काज सरुवा गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जारी गरेको पत्रअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको निर्णय तथा प्रशासनिक सुधार कार्यान्वयनका क्रममा गठित उच्चस्तरीय कार्यदलको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो ।

पत्रमा उल्लेख भएअनुसार रेल विभागको कार्य रेल्वे बोर्डमा हस्तान्तरण गर्ने निर्णयअनुसार हाल रेल विभाग र मातहतमा कार्यरत कर्मचारीमध्ये लेखा समूहका कर्मचारीको व्यवस्थापन महालेखा नियन्त्रक कार्यालयबाट हुने भएकाले बाँकी विभिन्न श्रेणी र पदका २६ जना कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि रेल्वे बोर्डमा काज गरी खटाइएको हो ।

मन्त्रालयले रेल विभागलाई सम्बन्धित कर्मचारीलाई उक्त निर्णयबारे जानकारी गराई आवश्यक व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।

यस निर्णयसँगै रेल विभागका काम तथा जनशक्ति क्रमशः रेल्वे बोर्डमार्फत सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनतर्फ अर्को महत्वपूर्ण कदम अघि बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !