सप्तरी,  २६ पुष  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सूचना जारी गर्दै बताए अनुसार सप्तरीका ४ निर्वाचन क्षेत्रमा मतदान सुचारु, निष्पक्ष र सुरक्षित गर्न यो तयारी गरिएको हो। निर्वाचन प्रहरीको भर्ना छनोट तथा नियुक्ति समिति सप्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग मिलेर योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

निर्वाचन प्रहरी पदका लागि उम्मेदवारको उमेर १८–५४ वर्षसम्मको नेपाली नागरिक हुनुपर्नेछ। इच्छुक उम्मेदवारले माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार।

निर्वाचन प्रहरीले सेवा सुविधाअन्तर्गत दैनिक ८६९ रुपैयाँ ४० पैसा दरले ४० दिनको लागि ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्। यससँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।

 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीका अनुसार सप्तरीमा चार लाख ४६ हजार ४०२ मतदाता रहेका छन्, जसमा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ जना छन्। चार निर्वाचन क्षेत्रमा २९६ मतदान स्थल र ५६२ मतदान केन्द्र स्थापना गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको छ।”

यो भर्ना प्रक्रिया निर्वाचनको तयारीमा ठूलो भूमिका खेल्नेछ र स्थानीय सुरक्षा व्यवस्था सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !