सप्तरी , ४  माघ । सप्तरी प्रहरीले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मुद्दाका ३५ जना आरोपीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरणअनुसार जिल्लामा दर्ता भएका ७३ वटा मुद्दामध्ये ३५ जना प्रतिवादीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार एक महिनामा दर्ता भएका मुद्दामध्ये सामान्य प्रकृतिका ४४, गम्भीर २४ र जघन्य प्रकृतिका ५ वटा मुद्दा रहेका छन्। ती मुद्दामा संलग्नमध्ये ३५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

 

पक्राउ पर्नेमा ठगी, कुटपिट, कर्तव्य ज्यानलगायतका मुद्दाका आरोपीहरू रहेका छन्। बाँकी फरार आरोपीको खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन जिल्लाभर विशेष निगरानी तथा गस्ती बढाइएको पनि प्रहरीको भनाइ छ।

मासिक प्रगति प्रतिवेदनअनुसार यस अवधिमा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी र समुदायबीचको सहकार्यलाई प्राथमिकता दिइएको छ। नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ, समुदायसँग प्रहरी कार्यक्रम, विपद् व्यवस्थापनसम्बन्धी सचेतना तथा विविध अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रहरी–नागरिक सहकार्यकै आधारमा अपराध नियन्त्रणका गतिविधि अघि बढाइएको जानकारी दिनुभयो।

अपराध नियन्त्रणसँगै आगामी प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न विभिन्न सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिअन्तर्गत गस्ती, निगरानी र सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !