सर्लाही , ८ माघ  । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा गम्भीर बेथिति रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि ठोस कदम चाल्न निर्देशन दिनुभएको छ। सर्लाहीको लालबन्दीमा अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेसनलद्वारा सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।

मुख्यमन्त्री यादवले प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरी र अव्यवस्थालाई अन्त्य गर्न आवश्यक योजना बनाएर कार्यान्वयनमा जान स्पष्ट निर्देशन दिनुभएको छ। उहाँले नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलले लालबन्दी नगरपालिका–५ जरुवापानीमा सञ्चालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि २ करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरका अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ। प्रदान गरिएका उपकरणमा आँखाको शल्यक्रिया गर्न प्रयोग हुने फेको सर्जरी मेसिन, माइक्रोस्कोप, स्लिट ल्याम्पलगायत रहेका छन्।

मुख्यमन्त्री यादवले लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनबाट प्राप्त उपकरणले सर्लाहीसहित आसपासका जिल्ला तथा छिमेकी देश भारतका नागरिकलाई समेत लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले आँखा उपचार केन्द्रमा प्रदान गरिएका उपकरण सञ्चालन गर्न आवश्यक दक्ष प्राविधिक र जनशक्ति प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले लालबन्दीमा ट्रमा सेन्टर स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिने घोषणा पनि गर्नुभयो।

मधेश प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बेची लुङ्गेलीले प्राप्त उपकरणको सही सदुपयोग गर्दै यस क्षेत्रका आँखारोगीलाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो।

यसअघि परीक्षण र चस्मा वितरणमा सीमित रहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा अब फेको प्रविधिबाट आँखाको शल्यक्रियासमेत सम्भव हुने भएको छ। कार्यक्रमका अवसरमा मुख्यमन्त्री यादवले स्तरोन्नति गरिएको आँखा अस्पतालको औपचारिक उद्घाटनसमेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !