काठमाडौं , माघ ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता स्वागत नेपाललाई नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्युरोले सोधपुछका लागि बोलाएको छ।

ब्युरोको टोलीले उनलाई फोनमार्फत सम्पर्क गरी कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो। साइबर ब्युरोका प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो, “गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो।”

स्वागत नेपाल केही समयअघि नेपाली सेनाले देशको अवस्था नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्ने विषयमा टिप्पणी गरेका थिए। नेपाल हाल राप्रपाबाट झापा–२ मा प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ।

यस विषयमा प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले साइबर ब्युरोको कदमप्रति विरोध जनाउनुभयो। उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका सदस्यलाई समेत नियन्त्रणमा लिएका थिए। अहिले पनि देश टुक्र्याउन खोज्ने व्यक्ति विरुद्ध बोल्ने क्रममा स्वागत नेपाललाई पक्राउ गर्न खोजिएको रहेछ। यो अस्वीकार्य छ।”

 

प्रवक्ता श्रेष्ठले थपे, “उनीमाथि अनावश्यक दुस्ख दिने र चुनावी प्रक्रिया अवरुद्ध गर्ने प्रयास सह्य हुने छैन। पार्टी यसप्रति कडा ध्यान दिइरहेको छ।”

राजनीतिक विश्लेषकहरूले यस घटनालाई चुनावी प्रचारको संवेदनशील समयसँग जोडेर हेर्ने गरेका छन्। चुनाव नजिकिँदै गर्दा राजनीतिक नेताहरूको अभिव्यक्ति र त्यसका प्रतिक्रियामा सरकारी निकायले गर्ने कदमले मतदाता र उम्मेदवारबीच संवेदनशीलता बढाउन सक्ने बताइएको छ।

स्वागत नेपालको सोधपुछले झापा क्षेत्रको चुनावी माहोलमा अस्थिरता ल्याउने सम्भावना रहेको बताइएको छ। पार्टी र उनका समर्थकहरूले यस घटनालाई राजनीतिक उत्प्रेरणाको रूपमा लिनु भएको छ भने ब्युरोले भने विषयलाई सामान्य अनुसन्धानको रूपमा अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !