काठमाडौं , १० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले औपचारिक रूपमा समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता डा। राजु थापाले विज्ञप्ति जारी गर्दै पुनलाई समर्थन गरिएको जानकारी दिएका हुन् । उज्यालो पार्टीले म्याग्दीमा आफ्ना उम्मेदवारलाई निष्क्रिय राख्दै पुनको पक्षमा चुनावी समर्थन गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका केही राजनीतिक दलहरूले पनि महावीर पुनलाई समर्थन गर्दै आ–आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाइसकेका छन् । यससँगै म्याग्दीमा पुनको उम्मेदवारीलाई दलगत सीमाभन्दा बाहिर व्यापक समर्थन मिलिरहेको देखिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाङ्गी गाउँमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन् । उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रविधि, नवप्रवर्तन र ग्रामीण विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय पुन आफ्नो फरक र रचनात्मक प्रचार शैलीका कारण पनि चर्चामा छन् । सामाजिक सञ्जालमा उनका अभियान र सन्देशहरू व्यापक रूपमा भाइरल भइरहेका छन् ।
स्थानीयस्तरदेखि राष्ट्रिय तहसम्म पहिचान बनाइसकेका पुनलाई स्वतन्त्र उम्मेदवारका रूपमा कति दल र मतदाताको समर्थन जुट्छ भन्ने विषयले म्याग्दीको निर्वाचनलाई थप रोचक बनाएको छ ।





