जनकपुरधाम, ११ माघ । मधेश प्रदेशका राजधानी जनकपुरधाम समेत समेटिएको धनुषा निर्वाचन क्षेत्र नं. २को मतदाता अन्यौलमा परेका छन । ठुला राजनीतिक दलका पुराना एवं नयाँ उम्मेदवारहरुको प्रतिस्पर्धाले चुनावी माहौललाई रोचक बनाएको छ । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच मुल प्रतिस्पर्धा हुने देखिएको छ भने रास्वपाको चुनावी लहरले समेत चुनावी परिणामलाई प्रभावित गर्ने सम्भावना रहेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभामा नयाँ उम्मेदवार रहेका छन । जसपाका जिल्ला अध्यक्ष पशुपति यादव चुनावी मैदानमा छन । यादवको यो पहिलो प्रतिनिधिसभा निर्वाचन भएपनि, युवा पुस्ताको आकर्षण, मधेश आन्दोलनको लिगेसी र जातीय समीकरणले पशुपति बलियो दावेदारका रुपमा रहेका छन । यादव समुदाय बाटै तीन जना उम्मेदवार रहेपनि यादव भित्रकै उपसमूहले पशुपतिलाई फाइदा पुग्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन ।

नेपाली काँग्रेस बाट दिनेश प्रशैलाले उम्मेदवारी दिएको छन । एक पटक प्रतिनिधिसभाको निर्वाचन जिती सकेका प्रशैला बलियो उम्मेदवारका रुपमा देखा परेका छन । नेपाली काँग्रेसको बलियो संगठन, गत निर्वाचनमा कांग्रेसकै रामकृष्ण यादवको विजयी र जातीय समीकरणले प्रशैलालाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरिया पनि बलियो उम्मेदवारकै रुपमा रहेका छन । अरगरिया २०७४को निर्वाचनमा तत्कालिन फोरमबाट विजयी भएका थिए । उनि एमाले प्रवेश गरे पछि २०७९को निर्वाचनमा पराजित भएका थिए । अरगरिया पनि बलियो उम्मेदवारकै रुपमा रहेका छन । एमालेको संगठन, जातीय बाहुल्यता र व्यक्तिगत सम्बन्धले अरगिया आफनो जितको दावी गर्दै आएका छन ।
यता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामचन्द्र झा जातीय समीकरणमा कमजोर देखिए पनि सांगठनिक अवस्था, पार्टी भित्रको अविश्वासको वातावरणको अन्त्य र उनि राजनीतिका पुराना खेलाडी रहेकाले उनको दावेदारी समेत मजबुत देखिएको छ । अन्य प्रतिस्पर्धी उम्मेदवारहरु एउटै जातीबाट रहेकाले इतरको मत झा तर्फ जान सक्ने अनुमान गरिएको छ ।

 

हुनतः रास्वपा लगायतका नयाँ दलहरुका उम्मेदवारहरु समेत कम देखिएका छैनन् । उनिहरुको उपस्थितिले धनुषा २को प्रतिस्पर्धालाई झन रोचक बनाउने प्रायः निश्चित छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !