सर्लाही ११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रतिस्पर्धा राेचक ेेमोडमा पुगेको छ। यस क्षेत्रबाट यसपटक नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा र जनता समाजवादी पार्टीका नेता रामेश्वर राय यादवबीच प्रत्यक्ष भिडन्त हुने भएपछि चुनावी माहोल निकै तातिएको छ।
राष्ट्रिय राजनीतिमा भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका गगन थापा र सर्लाहीमै लामो समयदेखि बलियो जनाधार बनाउँदै आएका रामेश्वर राय यादवबीचको यो प्रतिस्पर्धालाई राष्ट्रिय लोकप्रियता बनाम स्थानीय जनाधारको टक्कर का रूपमा हेरिएको छ।
रामेश्वर राय यादवको बलियो स्थानीय पकड
जनता समाजवादी पार्टी , नेपालबाट उम्मेदवारी दिएका रामेश्वर राय यादव सर्लाही–४ मा परिचित र स्थापित राजनीतिक व्यक्तित्व मानिन्छन्। यसअघि सदभावना पार्टीमा यस क्षेत्रमा राम्राे संगठन निर्माण गरेकाले स्थानीय संगठन, कार्यकर्ता सञ्जाल र मतदातासँग प्रत्यक्ष पहुँच बलियो रहेको स्थानीय विश्लेषकहरू बताउँछन्।
पछिल्ला स्थानीय तह निर्वाचनका नतिजाले पनि सर्लाही–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा त्यससँग नजिक रहेको जनाधार बलियो रहेको संकेत गर्छ। गोडैता नगरपालिकामा जसपा नेपालबाट नगरप्रमुखमा देवेन्द्र यादव निर्वाचित भएका छन्। बलरा नगरपालिकामा नगरप्रमुख पदमा पराजित भए पनि अभय सिंहले उल्लेख्य मत प्राप्त भएको थियो, जसले यहाँ जसपा तथा सहयोगी धारको राम्रो जनमत रहेको देखाउँछ।
यस्तै, विष्णु गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदमा जसपा समर्थित उम्मेदवार थोरै मतान्तरले पराजित भएका थिए भने बसबरिया गाउँपालिकामा गाउँपालिका अध्यक्षमा रामसिहासन यादव विजयी भएका छन्। यी परिणामले सर्लाही–४ मा जसपा नेपाल र त्यससँग जोडिएको राजनीतिक धारको स्थायी मताधार स्पष्ट रहेको पुष्टि गर्ने स्थानीय नेताहरूको भनाइ छ।
जातीय समीकरणमा रामेश्वर बलियो
सर्लाही–४ को चुनावी गणितमा जातीय समीकरण पनि निर्णायक मानिन्छ। उपलब्ध तथ्याङ्कअनुसार यस क्षेत्रमा करिब १४ हजार यादव मतदाता, १५ हजार कुशवाहा मतदाता रहेका छन्। त्यस्तै, सरदर ४ हजार राजपूत र भूमिहार, करिब ८ हजार ब्राह्मण, १२ हजार सहनी–माझी, ८ हजार दलित तथा करिब १ हजार मुस्लिम मतदाता रहेको अनुमान छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रामेश्वर राय यादवको यादव, कुशवाहा र सहनी समुदायमा राम्रो पकड रहेको छ। यी समुदायको ठूलो मत हिस्सा सर्लाही–४ मा निर्णायक भएकाले जातीय समीकरणका आधारमा पनि यादवलाई तुलनात्मक रूपमा बलियो उम्मेदवार मानिएको छ। यही कारण गगन थापाभन्दा रामेश्वर राय यादवको प्रारम्भिक मतस्थिति बलियो देखिएको विश्लेषण गरिन्छ।
गगन थापाका लागि स्थानीय परीक्षा
उता नेपाली कांग्रेसका सभापति गगन थापाको
उम्मेदवारीले सर्लाही–४ लाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ। मधेसको मतबाट देशको नेतृत्वमा पुग्ने सन्देशसहित मैदानमा उत्रिएका थापाले यस क्षेत्रलाई राजनीतिक जोखिम र अवसर दुवै का रूपमा लिएका छन्।
तर, २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेश सिहं निर्वाचित भएको इतिहास र अहिले रामेश्वर राय यादवजस्तो बलियो स्थानीय जनाधार भएका उम्मेदवारसँगको प्रतिस्पर्धाले थापाका लागि चुनाव सजिलो छैन। राष्ट्रिय लोकप्रियता भए पनि स्थानीय तहमा संगठन र सामाजिक सम्बन्ध बलियो बनाउनुपर्ने चुनौती थापासामु देखिन्छ।
सर्लाही–४ मा मतदाताको बहस अहिले स्पष्ट रूपमा दुई ध्रुवमा देखिन्छ। एकथरी मतदाता राष्ट्रिय नेतृत्वलाई मधेसबाट जिताएर पठाउनुपर्ने पक्षमा छन् भने अर्काथरी मतदाता ‘हामीसँग बसेर राजनीति गर्ने, स्थानीय समस्या बुझ्ने नेता’ रोज्नुपर्ने तर्क गर्छन्।
स्थानीय विश्लेषकहरूका अनुसार यस निर्वाचनमा पार्टीको झण्डाभन्दा पनि व्यक्ति, जनाधार र सामाजिक सम्बन्ध निर्णायक हुने सम्भावना बढी छ। यही कारण रामेश्वर राय यादव र गगन थापाबीचको प्रतिस्पर्धालाई सर्लाही–४ को मात्र होइन, राष्ट्रिय राजनीतिलाई सन्देश दिने चुनावका रूपमा हेरिएको छ।
स्थानीय तहको नतिजा, जातीय समीकरण र स्थापित जनाधारलाई हेर्दा सर्लाही–४ मा रामेश्वर राय यादवलाई जित निकाल्न त्यति गाह्रो नपर्ने आकलन भइरहेका छन्। तर गगन थापाको राष्ट्रिय छवि र कांग्रेसको सांगठनिक शक्ति मिलेर नतिजा उल्टिन सक्छ कि सक्दैन भन्ने प्रश्नले चुनावी चासो झन् बढाएको छ।





