जनकपुरधाम, १२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ । शीर्ष राजनीतिक दलहरूले प्रायः पुरानै अनुहारलाई अघि सार्दै चुनावी मैदानमा उत्रिएका छन्, जसका कारण यस क्षेत्रको चुनाव थप चासोको विषय बनेको छ ।

धनुषा–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निवर्तमान सांसद दीपक कार्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट मातृका यादव, नेकपा एमालेबाट रामचन्द्र मण्डल र नेपाली काँग्रेसबाट रामपल्टन साह चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट किशोरी साह कमलसहितका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् ।

जसपाका उम्मेदवार दीपक कार्की निवर्तमान सांसद हुनुका साथै जनताबीच सक्रिय रहने नेताका रूपमा परिचित छन् । जसपा नेपालको सांगठनिक अवस्था र स्थानीय आधारका कारण उनी आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

 

त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार मातृका यादव यसै क्षेत्रबाट विगतमा निर्वाचन जितिसकेका अनुभवी नेता हुन् । जनताबीचको पहुँच र पार्टी संगठनका कारण उनी पनि मजबुत उम्मेदवार मानिन्छन् ।

नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डल हालै मधेश प्रदेशसभा सभामुख पदबाट पदच्युत भएका हुन् । राजनीतिक कारणले सभामुख पद गुमाए पनि माओवादी आन्दोलनबाट एमाले प्रवेश गरेका मण्डल जनताबीच बलियो पकड भएका नेताका रूपमा चिनिन्छन् । उनको उम्मेदवारीले धनुषा–१ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

यता नेपाली काँग्रेसबाट उम्मेदवार बनेका रामपल्टन साह यस क्षेत्रका लागि चुनावी रूपमा नयाँ अनुहार हुन् । तर काँग्रेसमा दशकौँदेखि सक्रिय रहँदै आएका साह जनताबीच रहने नेताका रूपमा परिचित छन् ।

हाल चुनावी प्रचार–प्रसार सुस्त अवस्थामा रहेकाले कसको पलडा भारी हुन्छ भन्ने विषयमा अहिले नै अनुमान गर्न कठिन छ । तर उम्मेदवारहरूको सूचीले धनुषा निर्वाचन क्षेत्र नं. १ मा कडा र रोचक प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !