काठमाडौं , १२ माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमै समेटिएको हो।

नेपालले बलिङमा आक्रामक सुरुवात गरे पनि डेथ ओभरमा अपेक्षित फिनिसिङ गर्न सकेन। पावरप्लेमै ३ विकेट झारेको नेपालले स्कटल्यान्डलाई ७९ रनमा ६ विकेटको अवस्थामा पुर्‍याएको थियो। तर मध्य तथा अन्तिम ओभरमा स्कटल्यान्डका ब्याटरहरूले संयमित ब्याटिङ गर्दै स्कोरलाई सम्मानजनक बनाएका हुन्।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४५ रन बनाइन्। अलिसा लिस्टरले २२ रन जोड्दा सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन्। नेपालका बलरहरूमाथि दबाब सिर्जना गर्दै उनीहरूले टोलीलाई १४० रनसम्म पुर्‍याए।

नेपालका लागि मनीषा उपाध्यायले शानदार बलिङ प्रदर्शन गरिन्। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिइन्। कप्तान रुबिना क्षेत्रीले पनि प्रभावशाली बलिङ गर्दै ४ ओभरमा २३ रन दिएर ३ विकेट हात पारिन्। त्यस्तै, सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट लिए।

 

यो खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा छ। सुपर सिक्समा स्थान बनाउने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। १४१ रनको लक्ष्य महिला टी–२० क्रिकेटमा हासिल गर्न सकिने लक्ष्य मानिए पनि स्कटल्यान्डको अनुशासित बलिङ आक्रमणका कारण नेपाललाई सजिलो भने हुनेछैन।

अब सबैको ध्यान नेपालका ब्याटरहरूको प्रदर्शनमा केन्द्रित छ। बलियो सुरुवात र संयमित ब्याटिङ गर्न सके नेपाल सुपर सिक्सको ढोका खोल्न सफल हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !