जनकपुरधाम १३ माघ । मुजेलियास्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयमा आयोजना गरिएको सरस्वती पूजाका क्रममा विधानविपरीत गतिविधि भएको आरोप सार्वजनिक भएको छ। कार्यसमिति सदस्यहरूका अनुसार गत वर्ष (२०८१) मा सरस्वती पूजामा पूजापाठ गराउने दिनेश चन्द्र झा पण्डितलाई हालसम्म पूजाको दक्षिणा भुक्तानी नगरिएको अवस्थामा यस वर्ष भने कार्यसमितिको औपचारिक निर्णय बिना नै पूजापाठ सम्पन्न गरिएको हो।
आरोपअनुसार यस वर्ष सरस्वती पूजाका लागि कार्यसमितिको बैठक वा निर्णय नगरी करिब ४० हजार रुपैयाँ बराबरको चेक काटी मनोमानी रूपमा पूजापाठ गराइएको छ। यसलाई सार्वजनिक संस्थाको विधान, पारदर्शिता र सुशासनको मर्मविपरीत कदमको रूपमा कार्यकारणी सदस्यहरूले लिएका छन्।
यसबाहेक पुस्तकालयसँग सम्बन्धित पोखरी ठेक्कामा राखिने धनजमानी धितो संस्थाको नाममा नराखी पदाधिकारीको व्यक्तिगत नाममा राखिएको तथा कार्यसमिति सदस्यको फर्जी हस्ताक्षर प्रयोग गरिएको गम्भीर आरोपसमेत उठाइएको छ। यी गतिविधिले पुस्तकालयको विश्वसनीयता र सार्वजनिक संस्थाको मर्यादामाथि गम्भीर प्रश्न उठाएको कार्यसमिति सदस्यहरूको भनाइ छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सार्वजनिक संस्थामा पारदर्शी र विधिसम्मत सञ्चालन सुनिश्चित गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !