रुकुमपूर्व, १४ माघ । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा सवारी आवागमन ठप्प भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हिमपातसँगै निरन्तर वर्षा भइरहेको छ भने प्रतिकूल मौसमका कारण सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम र डोल्पातर्फ गएका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसो मौसमका कारण सडकमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन्।
रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउन भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी ९डोजर० पठाइएको जानकारी दिइन्। उनले भनिन्, “सडक खुलाउने प्रयास भइरहेको छ तर निरन्तर वर्षाका कारण काम सुरु गर्न कठिन भएको छ। वर्षा रोकिएलगत्तै हिउँ पन्छाएर यातायात सुचारु गरिनेछ।”
उक्त क्षेत्र उच्च हिमाली भूभाग भएकाले हरेक वर्ष हिउँका कारण सडक अवरुद्ध हुने गरेको छ। यसपटक बाक्लो हिमपात र फोन नेटवर्क अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा समेत समस्या भइरहेको सुरक्षा निकायले जनाएको छ।





