काठमाडौं, १५ माघ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावी गठबन्धन गर्नसमेत तयार नहुने पार्टीले एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनमा पुरानै र असफल जालझेल भएको टिप्पणी गरेका छन्।

पार्टी एकताका लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

विप्लवले लेखेका छन्, “आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दै आएको थोत्रो, काम नलाग्ने र असफल हुइयाँ मात्र हो।” उनले थपेका छन्, “यस्तो भ्रममा विचार मरेका, आँत सडेका र आफ्नै इतिहासले चेप्टिएका हुतिहारा मात्र पर्छन्।”

विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्र छोडेका चिरञ्जीवी ढकालसहितका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले विप्लवलाई लक्षित गर्दै प्रतिक्रिया दिएका थिए। सो क्रममा प्रचण्डले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा कमजोर बन्दै गएको र इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको टिप्पणी गरेका थिए।

 

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवार बन्ने तयारी गरेका थिए। तर, उक्त क्षेत्रमा माओवादी केन्द्रले वर्षमान पुन ‘अनन्त’ लाई उम्मेदवार बनाएको छ। यसअघि विप्लव नेतृत्वको नेकपाको स्थायी समिति बैठकले पार्टीको माथिल्लो तहका नेताहरू निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको थियो।

आफू उम्मेदवार बन्ने तयारी गरेको क्षेत्रमा समेत माओवादी केन्द्र चुनावी सहकार्यका लागि तयार नभएको संकेत गर्दै विप्लवले प्रचण्डलाई जवाफ फर्काएका हुन्।

यसअघि विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच पार्टी एकताका लागि पटक–पटक छलफल भएको थियो। सोही क्रममा गत भदौ ९ गते प्रचण्ड विप्लवको निवास हरिसिद्धि पुगेर छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !