काठमाडौं, १६ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन मा सुरक्षा संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी विशेष तयारीमा छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, हेभिवेट उम्मेदवारको प्रतिस्पर्धा हुने ठाउँमा सुरक्षा चुनौती स्वाभाविक रूपमा उच्च हुने भएकाले विशेष कमाण्ड बनाएर प्रहरी परिचालन गरिने तयारी भइरहेको छ।
सबैभन्दा चुनौतीपूर्ण जिल्ला झापा मानिएको छ। झापा–५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता एवं पूर्वमेयर बालेन्द्र शाह (बालेन) आमने–सामने छन्। त्यस्तै, निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर पनि यही जिल्ला क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। हाल झापामा करिब १०० बढी अतिरिक्त प्रहरी परिचालन गरिएको छ।
सर्लाही जिल्लालाई पनि सुरक्षा दृष्टिले चुनौतीपूर्ण मानिएको छ। सर्लाही–४ मा नेपाली कांग्रेस सभापति गगन थापा र रास्वपा अमरेश कुमार सिंह प्रतिस्पर्धामा छन् भने पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) पनि उम्मेदवार बनेका छन्।
चितवनमा पनि सुरक्षा संवेदनशीलता उच्च रहेको छ। चितवन–२ बाट रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, चितवन–३ बाट नेकपा नेता एवं पूर्वमेयर रेणु दाहाल र रास्वपा नेतृ सोविता गौतम आमने–सामने छन्।
निर्वाचन लक्षित रूपमा ७५ हजार भन्दा बढी प्रहरी परिचालन हुने योजना छ। उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्ला क्षेत्रमा खटाइने तयारी भएको छ। सुरक्षा थ्रेट, उम्मेदवारको विवरण संकलन, सम्भावित झडप र घटनाको विश्लेषणका लागि राष्ट्रिय अनुसन्धान विभागसहितका कर्मचारीहरू सक्रिय छन्।
गृहमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत नबगोस भन्न निर्देशन दिएकी छिन्। यसैक्रममा मन्त्रालयले वडातहसम्म राजनीतिक दल, पदाधिकारी र प्रबुद्ध व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको जनाएको छ।





