काठमाडौं, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ देखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा जापान सरकारले उनको भ्रमणको निमन्त्रणा गरेको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्किने कार्यक्रम छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन्। सोही दिन जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग औपचारिक भेटवार्ता हुने पनि तय गरिएको छ।
यस्तै, माघ १९ गते राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरीई इवाओसँग पनि शिष्टाचार भेट हुने बताइएको छ।
भ्रमणको अवसरमा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनेछन् र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।
राष्ट्रपति पौडेलसँग उनको धर्मपत्नी श्रीमती सविता पौडेल र उच्चस्तरीय सरकारी अधिकारीहरू पनि रहनेछन्। यो भ्रमण नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीच व्यापार, कूटनीति र सांस्कृतिक सम्बन्धलाई प्रोत्साहन गर्ने महत्व राख्छ।





