सप्तरी, २६ मंसिर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा सरकार चलाएको एमाले, काँग्रेस र माओवादी लगायत ठुला दल फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने दाउमा रहेको भन्दै उनीहरुबाट सावधान रहनुपर्ने कुरामा जोड दिएका छन् ।

शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । विगतमा सरकारको नेतृत्व गर्दा ब्रह्मलुट मचाएर व्यापक भ्रष्टाचार गरेका दलहरु नै अहिले संसद पुनस्र्थापनाको ढोल पिटी रहेको टिप्पणी गर्दै उनले यस्तो व्यवहारले जेनजी आन्दोलनको पनि अपमान हुने दावी गरे ।“एमाले र नेपाली काँग्रेस अहिले संसद पुनस्र्थापनाको मुद्दा हाल्दै हिडेका छन् उनले भने–फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने यो उनीहरुको योजना हो ।”

मुलुकमा विगत देखि हुँदै आएको भ्रष्टाचारका कारण जेनजी आन्दोलन भएको बताउँदै उनले आन्दोलनको बलिदानी खेर नजाओस भन्नका लागी भ्रष्टाचारीहरुलाई अघि बढ्नबाट रोक्नु पर्ने उनको सुझाव थियो ।

आफ्नै नेतृत्वको नेपाल राष्ट्रिय मुक्ति पार्टी विचार सहितको विकल्पका रुपमा अघि बढिरहेको दावीका साथ यसको विस्तारमा सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।

 

कार्यक्रममा पार्टीका महासचिव सन्तोष मेहता, सहमहासचिव गजेन्द्र मंडल, राजनीतिक समिति सदस्य राजनाराण साह, जिल्ला संयोजक दीपेन्द्र चौधरी, नवप्रवेशी एवं स्व. गजेन्द्रनारायण सिंहका अनुयायी विकास तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तिवारीले छाडे जसपा नेपाल

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता विकास तिवारीले शुक्रबार पार्टी परित्याग गरेका छन् । उनले अध्यक्ष यादवलाई पत्राचार गरी सो पार्टीको कुनै पदमा नरहने जानकारी गराएका छन् । तिवारी जसपा नेपालका केन्द्रिय सदस्य थिए । उनी शुक्रबार नै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । उनलाई राजविराजमा आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष महतोले फुलमाला अबिर लगाई स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

सो अवसरमा तिवारीले मुल्यांकनको आधार, निष्ठा, समर्पण, त्याग र योगदान हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !