काठमाडौं । सन् २०२४ चीनका लागि कठिन वर्ष थियो । एकातिर, सी चिनफिङको सरकारले देशमा आर्थिक समस्याहरूसँग संघर्ष गरिरहेको थियो । अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा रुससँगको गठबन्धनका कारण विभिन्न खालका जटिलताको सामना गर्नुपरेको थियो ।

यसका बाबजुद पनि चीनले विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यस्तो अवस्थामा, सन् २०२५ मा चीनको प्रगतिको बाटोमा अवरोध ल्याउन सक्ने पाँच चुनौती छन् ।

१. अमेरिकासँग नयाँ प्रतिस्पर्धा

जनवरी २० बाट नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हाल्दै छन् । चीनको सबैभन्दा ठूलो चिन्ता यसैमा छ । चीनप्रति ट्रम्प आक्रामक देखिएका छन् । ट्रम्पको व्यवहारले चीनलाई समस्यामा पार्न सक्छ ।

ट्रम्पले पहिले नै चीनलगायत अन्य देशमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिइसकेका छन् । ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्ध यसपटक पनि जारी रहने संकेत हो ।

अमेरिकासँगको टकरावपूर्ण सम्बन्ध चीनका लागि ठूलो चुनौती बन्न सक्छ । तर, चीन यसका लागि तयार छ । यसअघि, चीनले अमेरिकासँगको व्यापार युद्धबाट धेरै पाठ सिकेको छ ।

चीनले पाठ सिकेको कुरा हुवावेको गतिविधिबाट पनि बुझ्न सकिन्छ । हुवावेजस्ता चिनियाँ कम्पनीहरूले अन्य क्षेत्रहरूमा लगानी विस्तार गर्दै छन् । उनीहरूले अमेरिकी बजार र प्रविधिमाथिको आफ्नो निर्भरता कम गर्ने तरिकाहरू खोज्न थालेका छन् ।

चीन पनि अमेरिकाविरुद्ध कडा अडान लिन हिचकिचाउँदैन । चीनले हालै दुर्लभ धातुहरू (जुन ब्याट्री र कन्भर्टर बनाउन प्रयोग गरिन्छ) को निर्यातमा प्रतिबन्ध लगाएर आफ्नो कडा स्वरूप देखाइसकेको छ ।

अर्थात्, चीन अहिले २०१७ को तुलनामा व्यापार युद्धको सामना गर्न निकै मजबुत स्थितिमा छ ।

२. विश्वव्यापी प्रविधि युद्ध

आउँदा दिनहरूमा चीन र अमेरिकाबीच एकअर्काको वस्तुमा कर लगाउने मुद्दाले सबैभन्दा बढीको ध्यान आकर्षित गर्नेछ भन्नेमा कुनै शंका छैन । तर, अर्को द्वन्द्व चीनको प्राविधिक विकासमा हुन सक्छ । किनभने यस क्षेत्रले अमेरिकाको व्यापार प्रभुत्वमा ठूलो चुनौती खडा गर्न सक्छ ।

चीनले यस क्षेत्रमा निर्यात बढाएर रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको छ । त्यसैले प्रविधि चीनका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

अर्कोतर्फ, अमेरिकाको प्राथमिकता यस क्षेत्रमा चीनमाथिको निर्भरता कम गर्नु हो । अमेरिकाले ‘सेमिकन्डक्टर टेक्नोलोली’मा चीनको पहुँचलाई प्रतिबन्ध गर्ने प्रयास गरेर यो संकेत गरेको छ । यो द्वन्द्वको नयाँ मोर्चा हुनेछ ।

प्रविधिमा क्षेत्रमा चिनियाँ योजनालाई ‘बेइजिङ प्रभाव’ भन्ने गरिएको छ । यसअन्तर्गत, चीनले डिजिटल पूर्वाधारको क्षेत्रमा विभिन्न मापदण्डहरू निर्धारण गर्ने प्रयास गरिरहेको छ ।

यो युरोपेली संघले जीडीपीआर अर्थात् ‘जनरल डेटा प्रटेक्सन रेगुलसन’मार्फत डेटा व्यवस्थापन र गोपनीयताका लागि गरेको काम जस्तै हो । यस्तो कदमले चीनलाई प्रविधिको क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्न सक्छ ।

३. युरोपेली संघको कर

युरोपसँग चीनको व्यापार द्वन्द्व पनि जटिल छ । दुवैले एकअर्का विरुद्ध कर थोपरेका छन् । उदाहरणका लागि, चीनले फ्रान्सेली ब्रान्डीमा आयात कर लगायो । प्रतिक्रियामा, युरोपेली संघले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा प्रतिबन्ध लगायो ।

एसियामा नेटोको भूमिका विस्तार गर्ने सस्म्बन्धमा हालै भएका छलफलहरूपछि युरोपेली संघसँगको व्यापार युद्ध चीनको लागि टाउको दुखाइ बन्न सक्छ । तर, युरोपेली संघप्रति ट्रम्पको स्वाभाविकरूपमा विरोधी अडानले चीनको पक्षमा काम गर्न पनि सक्छ ।

४. रुससँगको गठबन्धन

रुस अब चीनका लागि महत्त्वपूर्ण बनेको छ । यसको कारण त्यहाँको बजार र प्राकृतिक स्रोतहरू हुन् । आर्थिक सहयोग प्रदान गर्ने सन्दर्भमा पनि चीन रुसको लागि महत्त्वपूर्ण बनेको छ ।

रुससँगको बढ्दो सम्बन्ध तथा समर्थनले युरोपेली देशहरूसँग चीनको सम्बन्धमा नकारात्मक प्रभाव पारिरहेको छ । केही युरोपेली देशहरू युक्रेनविरुद्धको युद्धमा चीन रुसको सहयोगी भएको विश्वास गर्छन् ।

त्यसैगरी, युक्रेनमा रुसको आक्रमण र दुई देशहरू बीचको जारी युद्धले अमेरिकाको ध्यान चीनबाट हटाउन मद्दत गर्न सक्छ ।

ट्रम्पले युक्रेन युद्धका लागि शान्ति योजना प्रस्ताव गरेका छन् । यदि यो सफल भयो भने अमेरिकाले फेरि एकपटक चीनमा ध्यान केन्द्रित गर्ने मौका पाउनेछ ।

यदि युक्रेन समस्या समाधान भयो भने अमेरिका र रुस बीचको सम्बन्ध पनि सुधार हुन सक्छ । यो चीनका लागि राम्रो खबर हुनेछैन ।

 

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !