काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित चेकपोस्टबाट प्रहरीले अवैध पटकाजन्य विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ बस्ने २८ वर्षीय प्रशान्त थापा रहेका छन्। सोमबार रातिको समयमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज ०२२० नम्बरको ईभी गाडीलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो।
सो क्रममा लुकाइछिपाई ल्याइएको ठूलो परिमाणको पटकाजन्य विस्फोटक पदार्थ बरामद भएपछि गाडी चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका पटकाहरूमा कलर काटी ८ प्याकेट, रोकर बम ५ प्याकेट, ओरिजिनल ५ प्याकेट, गोल्ड रुच ५ प्याकेट, ५५५ बम ३ प्याकेट, किङ कोब्रा ३ प्याकेट र पेन्टा स्काई ३ प्याकेट रहेका छन्। यसैगरी ह्याप्पी बर्थडे, याहु, रेन्ज बारात, सुपर फ्लावर, बाहुबली, राउन्ड चक्कर, डिजिटल, मोरी छाप, ग्रिन कलर्ड र मङ्गल-२ दुई-दुई प्याकेट तथा गोल्डेन कोर, २५ राइडर, रेड कार्गो, मेगा एलिफ्यान्ट र गन गन एक-एक प्याकेट बरामद भएको छ।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।





