गोरखा, २५ असोज । गोरखाकाे बुढीगण्डकीमा बाढीसँगै पाँच जना सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण ५ जना सम्पर्कविहीन भएको सूचना आएको प्रहरीले जनाएको छ । गोठालो गएका ५ जना घर नफर्केको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ ।
चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बीचमा हिमपहिरो जाँदा त्यहाँबाट बग्ने बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो । आइतबार बिहान सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय उइनगुलुङ खोला र बुढीगण्डकी थुनिएर बनेको ड्याम खुलेपछि बहाव बढेको बताइएको छ ।
बुढीगण्डकीको बाढीले अहिलेसम्म गोरखामा दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेका सिर्दिबास जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । धार्चे गाउँपालिका वडा नम्बर–५ स्थित केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका वडा नम्बर–९ मा रहेको मोटरेबल पुलको एउटा भाग बाढीले भत्काएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलले बताएका छन् ।
आरुघाटको वडा नम्बर–२ र ३ जोड्ने फलामे मोटरेबल पुल र आरुघाट गाउँपालिका–९ मा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । आरुघाटको पुलको एकतिरको भाग बाढीले भत्काएको हो ।
चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासमा बस्ने रामबहादुर गुरुङको कच्ची घर बाढीले बगाएको छ । सो ठाउँको एउटा घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ मा पाँच–सातवटा घरटहरामा बाढी पसेको छ ।
धार्चे गाउँपालिकाको सल्लेरीमा रहेका करिब २२ वटा घर जोखिममा रहेको प्रहरीले जनाएको छ । धार्चे गाउँपालिकाको सल्लेरीमा रहेको निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सात–आठवटा घर बाढीले बगाएको छ ।
खोज तथा उद्धारका लागि सेनाको हेलिकप्टर चुमनुब्री गाउँपालिकाको सिर्दिबास र पहिरो गएको ठाउँमा परिचालन गरिएको छ ।





