काठमाडाैँ, २१ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महोत्तरीको बल्वा नगरपालिका–१० की ममताकुमारी महतोले मधेशी महिला क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

लामो समयदेखि पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै संगठन निर्माणमा सक्रिय रहँदै आएकी महतोले मधेशका महिला, युवा र आम कार्यकर्ताको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन उम्मेदवारी दिएको बताएकी छन् ।

नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई विद्यार्थी राजनीतिमा स्थापित भएकी महतो २०७८ सालको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य निर्वाचित भएकी थिइन् । यसका साथै उनले पार्टीका विभिन्न केन्द्रीय तहका समितिहरूमा रहेर जिम्मेवारी सम्हालिसकेकी छन् । राजनीतिक यात्राका क्रममा निरन्तर संघर्षरत महतोले समाजमा व्याप्त कुरीति र लैङ्गिक विभेदविरुद्ध पनि आवाज उठाउँदै आएकी छन् ।  उनले विशेष गरी तराई-मधेश क्षेत्रमा विद्यमान दाइजो प्रथाविरुद्ध सानै उमेरदेखि चेतनामूलक अभियान तथा संघर्ष गर्दै आएकी छन् ।  

विगतमा पार्टीभित्रै पनि युवा र महिलाको समान प्रतिनिधित्वका लागि निरन्तर आवाज उठाउँदै आएकी महतो साधारण पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा स्थापित हुने प्रयास गरिरहेकी युवा नेत्री हुन् ।

राजनीतिमा पहुँच नभएका सामान्य परिवारका युवा-महिलाका लागि अवसर पाउन निकै कठिन हुने अनुभव सुनाउँदै उनले भनिन्, “पार्टीमा गगन थापाजस्ता अभिभावकत्व प्रदान गर्ने नेताहरू भएपछि हामीजस्ता सामान्य परिवारका महिलाहरूलाई राजनीतिमा आएर नेतृत्व दाबी गर्न हिम्मत र सहजता मिलेको छ।”

उनी २०८१ साउन १० गते राजर्षि जनक विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय प्रतिनिधिको रूपमा खटिएकी थिइन् ।

“मेरो उम्मेदवारी केवल पद प्राप्त गर्ने आकांक्षा होइन,” उनले भनिन्, “महाधिवेशन प्रतिनिधिज्यूहरूको एक मत मेरो लागि सम्मान मात्र नभई ठूलो जिम्मेवारी हो। यसलाई इमानदारी र निरन्तर संघर्षमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

नेतृ महतो राजर्षिजनक विश्वविद्यालयमा पूर्वीय दर्शनशास्त्र विषयमा एमफिल अध्ययन गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !