जनकपुरधाम, ८ कार्तिक। धनुषाको मिथिलाबिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् ।
स्थानीयका अनुसार ३५ वर्षीय उमेश यादव रूखमा झुण्डिएको अवस्थामा र उनकी ३० वर्षीया श्रीमती रिना यादव घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्। गाउँभन्दा केही पर खेतमा रहेको रूखमा उमेश झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
रिनासँगै घरज्वाइँका रूपमा बस्दै आएका उमेश केही दिनअघि मात्रै विदेशबाट फर्किएको स्थानीयको भनाइ छ। विदेशबाट फर्किएपछि श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसैका कारण घटना भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। तर, घटनाको कारणबारे प्रहरीले आधिकारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन ।
यादव दम्पतीका एक बालकको खुट्टामा समेत चोट लागेको एक स्थानीयले बताएका छन्। बालकको चोट कसरी लाग्यो भन्नेबारे भने स्पष्ट हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार रिनाको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको र घटनाको वास्तविक कारण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





