
शैलेन्द्र यादव
जनकपुरधाम, १० माघ । जनकपुरधाम उप–महानगरपालिकाको वडा २ र ३ मा पर्ने देमान पोखरीको सौदर्यकरणको टेण्डरको बिषयमा बसेको बैठक निष्कर्ष बिहीन बनेको छ । मेयर मनोजकुमार साहको अगुवाईमा बसेको बैठकमा टेण्डर सदर र प्रक्रिया अगाडि बढाउनुपर्ने ठेक्केदारले माग गरे पनि मेयर साहले त्यस बिषयमा भने सकारात्मक जवाफ दिएन् ।
देमान पोखरीको सौन्दर्यकरणकालागि करिव ३ करोडको बजेटमा तीन प्रतिशत बिलोमा मात्रै निर्माण कम्पनीले टेण्डर हात पारेपछि कम्पनी संगको मिलिभगतमा भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त बोलपत्रमा संलग्न पदाधिकारी र कर्मचारीलाई कारवाहीकालागि सिफारिस गरेको थियो ।
स्रोतका अनुसार तत्कालीन योजना प्रमुख ऋषिकेश साहले ठेक्केदार कम्पनी संग सेटिङ्ग गरेर त्यो टेण्डर एउटा निर्माण कम्पनीले मात्रै भरेका थिए । तर, मेयर साहले माग गरे अनुसारको कमिसन दिन निर्माण कम्पनीले स्वीकार नगरे पछि विभिन्न बाहाना बनाए त्यो टेण्डर नै रद्द गर्ने दाउमा मेयर साह छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मंसिर ९ गतेमा जनकपुरधाम उप महानगरलाई लेखेको पत्रमा भनेको छ–‘जनकपुरधाम उप–महानगरपालिकाबाट देमान पोखरि सौन्दर्यकरण निर्माण कार्यकालागि २०८१ बैशाख २० गते प्रकाशित ठेक्का बोलपत्र सम्वन्धि कागजातमा राखिएको प्रावधान प्रतिकुल देखिएकोले उक्त खरिद कार्यमा संलग्न पदाधिकारी र कर्मचारीहरु एकि नगरि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६५ को उपदफा २ (क) मा उल्लेखित व्यवस्था अनुसार कारवाही गर्न हुन यस कार्यालयको अनुरोध छ ।’
जनकपुरधाम उप–महानगरपालिकाको वडा नम्वर २ र ३ को बीचमा पर्ने देमान पोखरी सौन्दर्यकरणकालागि उप महानगरपालिकाले गरेको टेण्डरमा एउटा निर्माण कम्पनीले मात्रै तीन प्रतिशत बिलोमा सो बोलपत्र स्वीकारेका थिए । सो कागजात मिलाउन जनकपुरधाम उप–महानगरपालिकाका तत्कालिन योजना प्रमुख ऋषिकेश साहले तयार पारेका थिए । सो निर्माण कार्यमा तत्कालिन योजना प्रमुख साहले जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज कुमार साहको निर्देशनमा तयार पारेको कर्मचारी स्रोतको भनाई छ । मेयर साह र ठेक्केदार बीचको बैठकमा सिफारिस गरिए अनुसार कर्मचारीलाई कारवाही गर्ने भन्दै बैठक सकेको थियो ।
जनकपुरधाम उप–महानगरपालिकाले यहाँबाट हुने टेण्डर निर्माण व्यवसायीको अनुसार, खरिद सप्लायर्सको, डिपिआर पनि एउटै कम्पनीबाट गरेको लगायतका समस्या देखिएको छ । काम नै नगरि भुक्तानी गरेको तथा काम गरेपनि कमसल गर्ने गरेको आरोप उप महानगरमाथि आम जनताको छ ।
मेयर साहले छोरा तथा भाई भरदारको भरमा कार्यालय सञ्चालन गर्ने गरेको आरोप समेत छ । मेयर साहका छोराले कर्मचारीसंग अभद्र व्यवहार गर्दा उनीहरुको काम अन्य ठाउमा गरेको तथा काममा गल्ती गर्दा कारवाही गर्नुको साटो ढाकछोप गर्ने गरेको आरोप छ ।
जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रहरीले बालात्कार गर्दा मेयर साहले उनलाई कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्दा पनि अहिले सम्म कारवाही हुन सकेको छैन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई समेत कारवाहीकालागि बोदार्थ गरेको छ ।