काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज काठमाडौँबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेको छ ।

प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। दोहामा केही समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् ।

न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्ने कार्यक्रम छ।

स्थायी नियोगमा प्रधानमन्त्री शाहलाई परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमण तथा महासभामा सहभागितासम्बन्धी विषयमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा स्थायी प्रतिनिधिले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । सोही दिन उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसपटकको महासभामा प्रधानमन्त्री शाहले नेपालमा पछिल्लो समय आएको विनाशकारी भोटेकोशी बाढी, जलवायु न्याय, जलवायु परिवर्तनबाट नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोग्नुपरेका असर तथा पर्वतीय मुलुकका सरोकारका विषय उठाउने तयारी रहेको छ।

प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै स्वदेश फर्कनेछन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीहरूले उनलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँ आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको कार्यभार सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !