महोत्तरी । महोत्तरीका विभिन्न स्थानमा क्षयरोगीहरूलाई पोषण आहार वितरण गरिएको छ । बीएनएमटी यूके र सावित्री बस्नेत फण्ड फर टीबीको आर्थिक सहयोग, बीएनएमटी नेपाल र पालिकाहरूको साझेदारी तथा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको समन्वयमा बलवा, पिपरा, रामगोपालपुरलगायत पालिकामा क्षयरोगीहरूलाई पोषण आहार वितरण गरिएको हो ।
भदौ ३१ गते पिपरा गाउँपालिकाका १० जना, असोज १ गते बलवा नगरपालिकाका १५ जना र रामगोपालपुर नगरपालिकाका १० जना दलित, असहाय, अशक्त क्षयरोगका बिरामीलाई पोषण आहार वितरण गरिएको बीएनएमटी नेपालका प्रादेशिक कार्यक्रम संयोजक डा. मनोजकुमार साहले जानकारी दिए ।

वितरण गरिएको पोषण आहारमा २५ किलोग्राम मन्सुली चामल एक बोरा, एक किलोग्राम रहर दाल, एक लिटर सोयाबिन तेल, एक किलोग्राम पिठो र १.५ किलोग्राम चना समावेश गरिएको छ। त्यसैगरी शाकाहारी बिरामीका लागि एक किलोग्राम सोयाबिन तथा मांसाहारी बिरामीका लागि एक क्यारेट अण्डा उपलब्ध गराइएको छ।

क्षयरोगका बिरामीलाई उपचार अवधिभर आवश्यक पोषणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम छ महिनासम्म निरन्तर सञ्चालन हुने डा. साहले जानकारी दिए ।

बलवामा भएको कार्यक्रमका क्रममा नगर प्रमुख रामबिजय महतोले पोषणयुक्त आहारले बिरामीको स्वास्थ्यमा सुधार ल्याउन तथा नियमित उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

यो कार्यक्रममा क्षयरोगको लक्षण,कारण र उपचारसम्बन्धी सचेतना तथा जानकारीमूलक संदेशहरूबारेमा बलबा नगरपालिकाका जनस्वास्थ निरीक्षक रामकुमार माझी र बीएनएमटी नेपालका प्रादेशिक कार्यक्रम संयोजक डा. साहले जानकारी गराएका थिए ।





