
शैलेन्द्र यादव
जनकपुरधाम, १९ माघ । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी जिते जस्तै कबड्डी प्रतियोगितामा पनि जनकपुर अब्बल रहेको प्रमाणित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक तथा प्रतिस्पर्धामक फाइनलमा जनकपुर नाइट्सले अपाराजित यात्राका साथ काठमान्डु माभरिक्सलाई ४५–४१ अन्तरले हराउँदै पहिलो च्याम्पियनको उपाधी माथि कब्जा गरेको हो ।
च्याम्पियन बन्ने क्रममा जनकपुरले कुनै खेल गुमाएन । लिग चरणमा ५ मध्ये ४ खेल जितेको जनकपुरले एक १ बराबरी खेलेको थियो । त्यसपछि क्वालिफायर वानमा विराटनगर ब्यान्डिट्स र फाइनलमा काठमान्डुलाई हराउँदै ७ खेलमै जनकपुर अपराजित रह्यो ।
फाइनलमा जनकपुरले पहिलो हाफमा २५–१ को अग्रता बनाएको थियो । दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । सुरूमा जनकपुर अघि रहेपनि काठमान्डुले पुनरागमन गर्दै ३४–३४ को बराबरी गर्दै अग्रता समेत लिएको थियो ।
तर अन्तिममा काठमान्डु सम्हालिन सकेन भने जनकपुरले आफ्नो लयलाई कायम राख्यो । दोस्रो हाफमा काठमान्डुले २२(२) को अग्रता बनाएपनि जनकपुरलाई जित बाट रोक्न सकेन ।
च्याम्पियन जनकपुरले नगद ५ लाख र आकर्षक ट्रफी हात पार्यो । उपविजेता काठमान्डुले २ लाखमै चित्त बुझायो ।