
जनकपुरधाम, २५ माघ । सिरहाको लहान नगरपालिका–१४ मा अवस्थित ऐतिहासिक बस्तीपुर माध्यमिक विद्यालयको अवस्थामा संकटग्रस्त बनेको छ । कुनै बेला जिल्लाकै उत्कृष्ट विद्यालयमा गनिएका सो विद्यालयमा अहिले संकटकालिन अवस्थामा पुगेको हो । स्थानीय अभिभावकहरू विद्यालयको यो दुर्दशाका लागि प्रधानाध्यापक देवेन्द्र यादवलाई जिम्मेवार ठहराउँदै आएका छन् ।
एक समय यहाँ विद्यार्थीहरूको यति भीड हुन्थ्यो कि कक्षाकोठा भरिभराउ मात्र होइन, अतिरिक्त कोठाको व्यवस्था गर्नुपर्थ्यो । सिरहा जिल्लाका मात्र होइन, अन्य जिल्ला तथा टाढा–टाढाबाट विद्यार्थीहरू होस्टेलमा बसेर अध्ययन गर्न आउँथे । तर अहिले विद्यालयको अवस्था निकै दयनीय बनेको छ । बाल कक्षामा जम्मा २–३ जना मात्र विद्यार्थी उपस्थिति हुन्छन् भने, कक्षा ४ मा ३ जना, कक्षा ३ मा ६–७ जना, कक्षा २ मा ५–६ जना मात्र छन् । कतिपय दिन त कक्षा नै खाली रहने गरेको पाइएको छ ।
विद्यालय खस्किनुमा प्रमुख दोषी प्रधानाध्यापक देवेन्द्र यादव भएको स्थानीय अभिभावकहरूको आरोप छ । विद्यालय सञ्चालन गर्नुपर्ने जिम्मेवारी लिएका यादव आफैं विद्यालयको अस्तित्व मेट्न लागि परेको उनीहरू बताउँछन् । प्रधानाध्यापकको तानाशाही प्रवृत्ति, शिक्षामा राजनीति हावी गराउने प्रयास र शिक्षक तथा कर्मचारीहरूलाई नियन्त्रणमा राख्ने शैलीले गर्दा विद्यालयको अवस्था झन् बिग्रँदै गएको स्थानीयहरूको गुनासो छ ।
अभिभावकहरू विद्यालय प्रशासन र प्र.अ. लाई पटक–पटक सुधारको माग गर्दा पनि सुनुवाइ नभएको बताउँछन् । उनीहरू भन्छन्, “पहिला यो विद्यालयमा छोराछोरीलाई भर्ना गराउँदा गर्व लाग्थ्यो, तर अहिले यहाँ न त शिक्षकहरू नै नियमित छन्, न त पढाइको स्तर नै राम्रो छ। विद्यार्थीहरू अन्यत्र जान बाध्य भएका छन् ।”
त्यहाँ कार्यरत शिक्षकहरू प्रधानाध्यापकको डरले बोल्न सक्दैनन् भने अभिभावकहरू आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित भएका छन् ।
अब प्रश्न उठ्छ, के बस्तिपुर मावि फेरि पुरानै अवस्थामा फर्कन सक्छ ? कुनै समय जिल्लाकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको यो शैक्षिक संस्था आज संकटको संघारमा छ।यहाँ पठनपाठन गरेर उच्च ओहदा , सांसद , मन्त्री समेत बन्न सफल बनेका बिद्यालय गुणस्तर खस्किनुमा चिन्ताको बिषय बन्नु स्वभाविक नै हो । यदि स्थानीय निकाय र शिक्षा मन्त्रालयले तत्काल कदम नचाले, विद्यालय पूर्ण रूपमा धराशायी हुने खतरा बढ्दै गएको छ ।
टुडेकर्मी साहको घटना प्रकरणमा प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । मञ्चका प्रदेश उपाध्यक्ष रामहृदय यादवले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दोषी प्रअ देवेन्द्र यादवलाई कानूनी कारबाहीको माग गरेको छ ।