
धनुषाधाम, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) धनुषाधाम नगर कमिटीले धनुषाधाम नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
३० औं महान् जनयुद्ध दिवसको अवसर पारेर बिहीबार नगरपालिकाका नगर प्रमुख (मेयर) बालेश्वर मण्डललाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
जनताको त्याग, तपस्या र बलिदानको जगमा देशमा संघीयता आएको उल्लेख गर्दै सो अनुरुप नगरपालिकाका गतिविधि सञ्चालन नभएको माओवादी नगर कमिटीको ठहर छ ।
स्थानीय तह भनेको जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने सरकारको अङ्ग हो । विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी सहितको जनतालाई सर्व–सुलभ सेवा प्रवाहको लागि देशमा तीन तहको सरकार गठन गरिएको छ ।’
धनुषाधाम नगरपालिकामा झन्डै ८ वर्षदेखि नेपाली काँग्रेसको नेतृत्त्वमा नगर प्रमुख र उपप्रमुख सहित स्थानीय सरकार सञ्चालन हुँदै आएको छ । तर स्थानीय सरकारले जनताको चाहनाअनुकुल सेवा प्रवाह गर्न सकेको छैन ।
मेयर मण्डल र उपमेयर विद्यादेवी भुजेल दोस्रो कार्यकालका लागि निर्वाचित भएपनि जनचाहनाअनुरुप काम गर्न सकिरहेको छैन । यसको चर्को आलोचना हुँदै आएको छ ।
मेयरले नगरपालिकाको आफ्नो गाडी हुँदाहुँदै भाडाको गाडी प्रयोग गरेको र आठवर्षसम्म पनि धर्मशाला ओगटेर बसेको छ । किसानहरुलाई मलखाद र विउविजन समयमै उपलब्ध गराउनुपर्ने, स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा सुचारु गर्नुपर्ने, शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने, खोला ठिक्का समयमै लगाउनु पर्ने, अनियमित तरिकाले भर्ना गरिएका कर्मचारीहरु सार्वजनिक गरिनु पर्ने लगायतका मागहरु राखेका छन् ।
नगरपालिकाको गतिविधि लगायत अन्य सम्पूर्ण कार्यहरु सुधार्न १० गते सम्मको समय दिइएको छ । त्यसो हुन नसके ११ गतेदेखि माओवादी केन्द्र नगर कमिटी चरणबद्ध आन्दोलन गर्ने विज्ञप्तिमार्फत् चेतावनी समेत दिएको छ ।
माओवादीबाट मेयरका प्रत्यासी रहेका दीपक यादवको अगुवाईमा ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा उल्लेख भएका मागहरु के–के छन् ?
१. धनुषाधाम नगरपालिकाको कार्यालय नवनिर्मित भवनमा सारि पर्यटकको लागि धर्मशाला खाली गर्नु पर्ने ।
२. धनुषाधामको प्राथमिक स्वास्थ्य केन्द्रमा अकास्मिक सेवा तुरुन्त सुचारु गरि नगर भरिका स्वास्थ्य सेवामा औषधी, स्वास्थ्यकर्मी र एमबुलेन्स सेवा सर्वसुलभ तरिकाले समयमा उपल्बध गराउनु पर्ने ।
३. विधार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरी शिक्षामा देखिएका अनियमितता, अपारदर्शिता र खस्किँदै गएको शिक्षा स्तरमा सुधारको लागी अबिल्मब पहल गरिनु पर्ने ।
४. आन्तरिक आम्दानी स्रोत बढाउन वालुवा खोलाको ठिक्का समयमा लगाउनु पर्ने ।
५. आफ्नै कार्यालयको गाडि हुँदाहुँदै भाडाको गाडी प्रयोग गर्नु बन्द गर्नुपर्ने ।
६. किसानहरुको लागि समयमा मलखाद, बिउबिजन र सिचाईको उचित व्यवस्था गर्नु पर्ने ।
७. प्रयापर्यटन बिकासको लागि धनुष मन्दिर, संरक्षित वन, धनुषाधाम मकर मेला, बजार व्यवस्थापन अभिलम्ब गरिनु पर्ने ।
८. सबै क्षेत्रका खेलकुदको लागि युवा तथा युवा क्लवहरुको समन्वय र सहकार्यमा संचालन गरिनु पर्ने ।
९. दलित, महिला, पिछडा वर्ग, अपांङ्ग लगायतका बिभिन्न समुदायका लागी संघीय र स्थानीय सरकारबाट छुट्याएर आएको सहभागिता मुलक रकम सम्बन्धित समुदायको समन्वय तथा सहकार्यमा काम गरिनु पर्ने ।
१०. अनियमित तरिकाले भर्ना गरिएको कर्मचारी सार्वजनिक गरिनु पर्ने ।
११. सार्वजनिक सुनुवाई कार्यक्रम गरि हाल सम्मको आयव्यय सार्वजनिक गरी सुचना प्रवाह गरिनु पर्ने । धन्यवाद ।।