
राजविराज, फागुन ५ । अठारह वर्षअघि भएको हत्या घटनाका फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । एक महिलालाई बिष खुवाएर मारेको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साविकको हर्दिया गाविस ६ (हाल सुरुङा नगरपालिका २) बस्ने शुभनारायण यादव र बद्रीनाथ अधिकारी छन् । दुबैलाई सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
यादव र अधिकारी दुबैले साविक कमलपुर गाविस ७ बस्ने ३५ बर्षीया फुलोदेवी यादवलाई ८ भदौ २०६३ मा बिष खुवाएर मारेको प्रहरीको भनाई छ । दुबैले फुलोदेवीलाई तत्कालिन हर्दिया गाविस ६ स्थित चौरमा घुमाउन बोलाई शुभनारायण यादवको घरमा लगी बिष खुवाएर मारेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
घट्नापछि दुबै जना फरार रहेका थिए । विशेष सूचनाको आधारमा अघिल्लो दिन पक्राउ परेका उनीहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।