साउदी अरब । युक्रेनमा जारी युद्ध रोक्न साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । रुसी प्रतिनिधिमण्डलका एक सदस्यले वार्ता नराम्रो नभएको बताए । तर थप केही भन्न गाह्रो हुने उनको भनाइ थियो । यस बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित थिए । उनीहरू दुवै सोमबार राजधानी रियाद पुगेका थिए ।  रुसी प्रतिनिधिमण्डलमा पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्य पूर्वका लागि वाशिंगटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल भएका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई यस बैठकमा आमन्त्रित गरिएको थिएन । बैठकको भोलिपल्ट जेलेन्स्की आफ्नी श्रीमतीसँग साउदी अरेबियाको भ्रमणमा आइपुग्दै छन् । यद्यपि, यस भेटमा कुनै पनि रुसी वा अमेरिकी अधिकारीलाई भेट्ने योजना उनको छैन । सबै महत्त्वपूर्ण मुद्दाहरूमा गम्भीरतापूर्वक छलफल गरेको  युरी उशाकोभलाई उद्धृत  गर्दै युक्रेनी मिडिया किभ इन्डिपेन्डेन्टले  लेखेको छ । रूस र अमेरिका दुवैले युक्रेनमा युद्ध रोक्न चाहेको र यसकारण एकअर्काको हितलाई ध्यानमा राख्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने पनि उनले बताए । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको भेटवार्ताबारे पनि कुरा भएको तर उनीहरूबिच भेटघाट अर्को हप्ता हुने सम्भावना कम रहेको पनि उशाकोभले बताए ।

यसअघि, बैठकको क्रममा रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका थिए । तर, उनले जेलेन्स्की साँच्चै युक्रेनका राष्ट्रपति हुन् र भन्ने प्रश्न उठाएका थिए ।

युक्रेन युरोपेली संघमा सामेल हुने विरुद्धमा नभएको पत्रकारहरूसँग कुरा  गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । रुसले यो संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा नमान्ने उनको भनाइ थियो । युरोपेली संघमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनले गर्ने उनले बताए । यस संगठनको हिस्सा हुनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार भएको तर नेटो जस्ता रक्षा संगठनहरूको मामिलामा रुसको विचार फरक भएकोमा उनले जोड दिए ।

बैठकमा आमन्त्रित थिएनन् जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेन युद्ध रोक्ने र शान्ति बहाली गर्नेबारे भएको यस वार्तामा बोलाइएको थिएन ।  बीबीसी न्यूजले एक वरिष्ठ युक्रेनी सरकारी अधिकारीलाई उद्धृत गर्दै यो कुरा पुष्टि गरेको छ । यसअघि, अमेरिकी विशेष दूत किथ केलॉगले युक्रेनको संलग्नताबारे बोलेका थिए । यस बैठकमा युरोपेली देशका नेताहरूलाई पनि आमन्त्रित गरिएन । युरोप वार्ताबाट बाहिरिन सक्ने डरले फ्रान्सेली राष्ट्रपतिले सोमबार एक दिन अघि नै शिखर सम्मेलन आह्वान गरेका थिए । युरोपेली देशका नेताहरूले यसमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !