
जनकपुरधाम, ९ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको बलमा मुलुकमा पटक–पटक सत्ता परिर्वन भएपनि शासन व्यवस्था परिवर्तन नभएको बताएका छन् ।
नेपाली समाज कतारद्वारा आयोजित सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘क्रुर र जहानीयाँ शासनबाट मुक्तीका लागि पटक–पटक आन्दोलन गरेका शोषित पीडित समाजले सत्ता परिवर्तन गरेपनि शासनमा सहभागिता जनाउन नसकेको दावी गरे ।’
अध्यक्ष यादवले आमूल परिवर्तनका लागि आन्दोलन गर्ने पक्ष शासनमा पुग्न नसक्नुले मुलुकको अवस्थामा सुधार आउन नसकेको टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हरेक सत्ता परिवर्तनमा नेपालका मधेशी, आदिवासी, जनजाति, दलित, महिलाको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन, त्यसको एउटै कारण हो, यी वर्गहरुको शासनमा सहभागिता हुन सकेको छैन । उनीहरुको अवस्था जस्ताको त्यस्तै छ ।’
मधेशी आदिवासी जनजाति लगायतका समुदायहरु अवसर, अस्तित्व र पहिचान बाट बञ्चित रहेसम्म मुलुकमा परिवर्तन अनुभूति हुन नसक्ने उनले बताए ।
नेपाली समाज कतारका अध्यक्ष मनिष यादवको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष यादवले भूमि अध्यादेश ल्याएर ओली नेतृत्वको सरकारले पुनः एक पटक मधेशी आदिवासीलाई आफ्नै भूमिमा अल्पमतमा पार्ने षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
फागुन ७ गते कतार प्रस्थान गरेको यादव १२ गते नेपाल फकिर्ने कार्यक्रम रहेको छ ।