
जनकपुरधाम, १७ फागुन । महेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्स प्रा. लि. जनकपुरधाममाथि डिप्लोमा अध्ययनरत विद्यार्थीहरुले कलेज प्रशासनविरुद्ध आर्थिक शोषण तथा जबरजस्ती रकम असुलीको आरोप लगाएउदै उजुरी दिएका छन ।
विद्यार्थी धर्मदेव महतोसहित ३० जना विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिदै इन्स्टिच्यूटका पदाधिकारीहरूलाई कारबाहीको माग गरेका छन् ।
विद्यार्थीहरूले इन्स्टिच्यूटका संचालक नरेश यादव, प्रिन्सिपल दया शंकर साह तथा संचालक समितिमाथि गुण्डागर्दी शैलीमा रकम असुली गरेको आरोप लगाएका छन् । उजुरीमा उल्लेख भएअनुसार इन्स्टिच्यूटले नेपाल सरकारको सीटीईभीटी मापदण्ड अनुसार शुल्क निर्धारण गर्ने आश्वासन दिएर विद्यार्थी भर्ना गराए पनि अध्ययन सम्पन्न भएपछि जबरजस्ती थप शुल्क असुल्ने कार्य भइरहेको छ ।
विद्यार्थीहरूका अनुसार तोकिएको भन्दा बढी शुल्क तिर्न अस्वीकार गर्ने विद्यार्थीलाई धम्की दिने, गुण्डा परिचालन गरी डराउने–धम्काउने र जबरजस्ती रकम असुल्ने जस्ता कार्य हुँदै आएको छ । कसैले विरोध गर्दा उसको शैक्षिक भविष्य नै बर्बाद पार्ने धम्की समेत दिइने गरिएको उजुरीकर्ताहरूको आरोप छ ।
विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत इन्स्टिच्यूटका पदाधिकारीहरूविरुद्ध सत्यतथ्य छानबिन गरी दोषी पाइए कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । साथै, सीटीईभीटीको मापदण्ड विपरीत शुल्क लिने तथा विद्यार्थीहरूमाथि शोषण गर्ने संस्थाको दर्ता खारेज गर्नुपर्ने माग पनि उजुरीमा समेटिएको छ ।
विद्यार्थीहरूले यो उजुरीका बारेमा सीटीईभीटीको केन्द्रीय कार्यालय काठमाडौं, गृह मन्त्रालय मधेश प्रदेश जनकपुरधाम, स्वास्थ्य मन्त्रालय काठमाडौं, सीटीईभीटी मधेश प्रदेश कार्यालय जनकपुरधाम, स्वास्थ्य मन्त्रालय मधेश प्रदेश जनकपुरधाम तथा पत्रकार महासंघ मधेश प्रदेशलाई समेत जानकारी गराएका छन् ।
विद्यार्थीहरूले उक्त कलेज प्रशासनको गतिविधि तुरुन्त रोक्न, निष्पक्ष छानबिन गर्न र संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।