जनकपुरधाम, १९ फागुन । मधेश प्रदेश सरकारका घटक दल नेपाली कांग्रेसले प्रदेश सरकार मनोमानी गरेको भन्दै सिकंजा कस्ने तयारी थालेको छ । मधेश प्रदेश सरकारको कामकारवाही सस्तो लोकप्रियताको लागि भएको भन्दै कांग्रेसले वर्तमान सरकारको अपजसको भागि नहुने भन्दै सिकञ्जा कस्ने तयारी थालेको छ ।

शिक्षा, स्वास्थ्य, विकास निर्माण, भौतिक पूर्वाधारको काम छाडेर सस्तो लोकप्रियताकालागि निजी अस्पताल र क्लिनिकहरुमाथि प्रतिवन्ध लगाउनु भन्दा पहिला प्रदेश सरकार मातहतको अस्पतालमा सुधार ल्याउन कांग्रेसले सुझाएको छ । मधेश प्रदेश सरकार गठन भएपछि सवै जिल्लाका जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिए पनि त्यसको अवस्थामा कुनै सुधार नआएको भन्दै कांग्रेसका नेताहरुले वर्तमान मधेश प्रदेश सरकारको आलोचना गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले जिल्ला अस्पतालहरुलाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्दै त्यतिबेला सवै अस्पतालहरुले पाएको इक्युपमेन्ट र जनशक्तिको भरमा अहिले पनि प्रादेशिक अस्पतालहरु सञ्चालन भई रहेको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्षको ७ महिना विताई सक्दा मात्र २.९५ प्रतिशत पूँजीगत रकम खर्च गर्न सकेका छन् । मधेश सरकारले चालु आवका लागि पुँजीगततर्फ २५ अर्ब २३ करोड १६ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेकोमा त्यसको २.९५ प्रतिशत अर्थात् ७४ करोड ३३ लाख २४ हजार ९ रुपैयाँ खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेशका अनुसार मधेश सरकारले चालुतर्फ १५ अर्ब २४ करोड १९ लाख ९८ हजार ४५८ रुपैयाँ विनियोजन गरेकोमा त्यसको १६.९४ प्रतिशत अर्थात् २ अर्ब ५८ करोड २२ लाख ४७ हजार ४८२ रुपैयाँ खर्च गरेको छ ।

मधेश सरकारले आव २०८१÷८२ का लागि ४० अर्ब ४७ करोड ३६ लाख ७७ हजार ४७८ बजेट संशोधनसहित ल्याएकोमा ३ अर्ब ३२ करोड ५५ लाख ७१ हजार ४९१ रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ८.२२ प्रतिशत रहेको छ ।

मधेश सरकारले अबको ५ महिनामा ३७ अर्ब १४ करोड ८१ लाख ५ हजार ९६७ रुपैयाँ खर्च गर्न बाँकी रहेको प्रदेश लेखा नियन्त्रकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !