
जनकपुरधाम, १९ फागुन । उमाप्रेमपुर खानेपानी उपभोक्ता समितिले स्थानीयलाई दूषित खानेपानी वितरण गरिरहेको पाइएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलमा समितिले स्थानीय समुदायलाई दूषित पानी वितरण गरिरहेको पाइएको हो ।
स्थानीयलाई खानेपानीको समस्या नहोस् भनेर खानेपानी ट्यांकीको निर्माण कार्य करिब ७/८ वर्षअघि थालिएको थियो । करिब ६ महिनादेखि उपभोक्ताहरुलाई पानी वितरण गरिरहेको समितिको लापरबाहीका कारण स्थानीयहरु दूषित पानी खान बाध्य छन् ।
मधेस प्रदेश सरकारको ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय मातहतका सो योजनामा बिगतमा स्थानीय जनप्रतिनिधिले खासै चासो देखाएको थिएन र अहिले योजनामा संलग्न भएका ब्यक्ति नै वडाअध्यक्ष रहेका छन् ।
करिब ७/८ वर्षदेखि सो योजनामा एउटै व्यक्तिको हालीमुहाली रहेको छ । स्थानीयहरु खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई मानवका लागि अतिआवश्यक मानिने पानीको सबालमा पनि खोलेर विरोध गर्न सकिरहेको छैन । स्थानीयहरुको मौनताका कारण अध्यक्षले खुलेरै लापरबाही गरिरहेको छ ।
वडाकार्यालय नजिकै पानीको पाइप फुटेको छ । पाइप फुटेर खाल्डोमा पानी जमेको र त्यही जमेको पानी पुनः पाइपबाट उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । उपभोक्ताको घरसम्म पाइपद्वारा पुगेको पानी स्वच्छ र सफा छ भन्ने विश्वासमा स्थानीयहरुले पानी प्रयोग गरिरहेको छ ।
नयाँ स्थानीय जनप्रतिनिधि आएको पनि ३ वर्ष बितिसक्दा खानेपानीको पाइप जडानले निरन्तरता पाएको छैन । जडान भएका ठाउँमा पनि दूषित पानी खान बाध्य छन् ।
https://www.facebook.com/reel/960168789644741