जनकपुरधाम २४ फागुन ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ३ स्थित दोलाठी युनाइटेड युवा क्लबको भवन निमार्णकाे लागि एक समारोह आज भव्य रूपमा सम्पन्न भएको छ ।शिलान्यास समारोहका प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा रहनुभएको थियो । विशिष्ट अतिथिको रूपमा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख राम दुलर साह, अतिथिमा वडा नं. ३ का अध्यक्ष जय नारायण मण्डल, वडा नं. ४ का अध्यक्ष उमेश महतो, जसपा नेपालकाे नगर संयोजक सुरेश यादव, क्लबका अध्यक्ष सन्तोष कुमार मण्डल लगायत स्थानीय समाजसेवी, युवा तथा नगरवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि कुशवाहाले स्थानीयस्तरमा खेलकुद तथा युवामुखी गतिविधिलाई प्रवर्द्धन गर्न क्लबको भवन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवालाई सक्षम, संगठित र अनुशासित बनाउन यस्ता संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।नगर प्रमुख साहले नगरपालिकाको तर्फबाट खेलकुद, शिक्षा तथा सामाजिक गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्षहरू मण्डल र महतोले क्लबलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय सरकारको भूमिका सक्रिय हुने आश्वासन दिनुभयो ।श्री दोलाठी युनाइटेड युवा क्लबले स्थानीय युवाहरूको सशक्तीकरण, खेलकुद प्रवर्द्धन तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । भवन निर्माणपछि क्लबलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने क्लबका अध्यक्ष सन्तोष कुमार मण्डलले बताउनुभयो ।कार्यक्रमको अन्त्यमा क्लबका पदाधिकारीहरूले सबै अतिथि, स्थानीय प्रतिनिधि तथा सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावकारी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !