
जनकपुरधाम, २५ फागुन । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिले निर्वाचन निर्देशिका पारित गरेको छ ।
शनिबार पार्टी प्रदेश कार्यालयमा बसेको प्रदेश समितिको विस्तारिक बैठकले वडा देखि प्रदेश सम्मको अधिवेशनका लागि निर्वाचन निर्देशिका पारित गरेको हो ।
जसपा केन्द्रीय समितिको बैठकले बैशाख २५ गतेभित्र प्रदेश सम्मको अधिवेशन सम्पन्न गर्न दिएको निर्देशन अनुरुप मधेश प्रदेश समितिले निर्धारित समयभित्रै अधिवेशन सम्पन्न गर्ने गरी वडा देखि प्रदेश सम्मको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
मधेश प्रदेश समितिले चैत्र १ गते देखि १२ गते सम्म वडा अधिवेशन, चैत्र १४ गते देखि २१ गतेभित्र पालिका अधिवेशन र चैत्र २२ गते देखि मसान्त सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैशाख २५ गतेभित्र प्रदेश अधिवेशन सक्नुपर्ने भएकाले अर्को बैठकबाट प्रदेश अधिवेशनको मिति निर्धारण गरिने निर्णय भएको मधेश प्रदेश समितिले जनाएको छ ।
बैठकले वडा अधिवेशनका लागि वडाका सम्पूर्ण क्रियाशिल सदस्य प्रतिनिधि हुने र पालिका तथा जिल्ला अधिवेशनका लागि आवश्यक प्रतिनिधिबारे मापदण्ड बनाउने जिम्मा जिल्ला समन्वय समितिलाई दिइएको छ । जिल्ला र पालिकाको आवश्यकता अनुसार जिल्ला समन्वय समितिले प्रतिनिधि निर्धारण गरिने जनाइएको छ ।
प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्य अभियन्ता पूर्वमन्त्री हरिनारायण यादव, केन्द्रिय सदस्य लालकिशोर साह, पूर्वमन्त्री ज्ञानेन्द्र यादव सहितको विशेष उपस्थिति थियो ।