
जनकपुरधाम, २५ फागुन । मधेश प्रदेश सरकारका सत्ताघटक दल नेपाली कांग्रेसले प्रदेश सरकारको भ्रष्टाचारको साक्षी बस्ने चेतावनी दिएको छ । मधेश प्रदेशका संसदीय दलका नेता तथा कांग्रेस मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सो चेतावनी दिइएको छ ।
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनमत पार्टी, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सम्मिलित गठबन्धन रहेको बताउँदै उनले लेखेका छन्, ‘केही मन्त्रालयको नाम नै उल्लेख गर्दै समाचार सम्प्रेषण भइरहेका छन्। यदि ती समाचारमा भनिए अनुसार योजना खरिदबिक्री वा सरकारी कोषको दुरुपयोग भएको हो भने नेपाली कांग्रेस त्यसमा कुनै पनि रूपमा संलग्न नरहेको प्रष्ट पार्न चाहन्छु ।’
यादवले सरकारको योजनाहरु कार्यान्वयनको क्रममा नकारात्मक प्रभाव परिरहेको वा बजेटको दुरुपयोग भइरहेको भएमा सत्ता गठबन्धनको प्रमुख घटकको नाताले नेपाली कांग्रेसले गम्भीर चासो राख्ने बताएका छन् ।
साथै, सरकारलाई तत्काल सुधारका लागि आवश्यक कदम चाल्न चेतावनी दिएका छन् । ‘सत्तासाझेदार भएकै आधारमा यस्ता विकृत गतिविधिहरूको साक्षी भएर बस्न नेपाली कांग्रेस बाध्य हुने छैन।
आवश्यक परेमा सम्बद्ध पक्षहरूसँग छलफल गरी उचित निर्णय लिनेछौं,’ यादवको विज्ञप्तिमा भनिएको छ ।