जनकपुरधाम, २८ फागुन  । लन्डनमा डेढ महिनादेखि बेपत्ता भएका नेपाली विद्यार्थी कमल अधिकारी अन्ततः सकुशल फेला परेका छन्। गत फेब्रुअरी २ तारिखदेखि सम्पर्कविहीन रहेका २३ वर्षीय अधिकारी लन्डनको इष्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिइरहेका अवस्थामा फेला परेका हुन्।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार अधिकारी फेब्रुअरी २५ देखि सो सेल्टरमा बस्दै आएका थिए। अधिकारी स्वयंले आफ्नो अवस्था बारे जानकारी गराएपछि दूतावासले नेपालस्थित परिवार र सेल्टर प्रशासनसँग समन्वय गरी उनलाई नेपाल फर्काउने पहल गरिरहेको छ।

धनुषा जिल्लाको हंसपुर–६ का बासिन्दा अधिकारी ‘युनिभर्सिटी अफ क्रिएटिभ आर्ट्स’का विद्यार्थी हुन्। उनी सन् २०२२ सेप्टेम्बर १७ मा बेलायत अध्ययनका लागि आएका थिए। तर, पछिल्लो समय आनीबानीका कारण उनलाई वेष्ट लन्डनका घरबेटीले बस्न नदिएपछि उनी सडकमा पुगेका थिए। आर्थिक समस्याका कारण उनी बेखर्ची बनेपछि नेपाली समुदायले सहयोगस्वरूप रेल भाडा जुटाइदिएका थिए। तर, त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।

उनको खोजीका लागि लन्डनस्थित नेपाली दूतावासले मेट्रोपोलिटन प्रहरीलाई जानकारी गराएको थियो भने स्थानीय नेपाली समुदायले पनि व्यापक खोजी प्रयास गरिरहेका थिए। अहिले उनलाई सुरक्षितरूपमा नेपाल फर्काउन आवश्यक पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !