
काठमाडौं ३ चैत । सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।
आगामी वर्ष २०८२ को जेठ २-४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निम्तो पठाइने जानकारी गराए ।सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको उनले बताए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको उनले बताए ।साढे ३ सय जनाको हाम्रो आकलन छ, नेपाली र विदेशीहरू गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ,’ पत्रकार सम्मेलनमा राईले भने ।नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए ।जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्सानीबारे आवाज उठाइरहेको पनि बताउ । वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको उनको भनाइ थियो ।
यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयिकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ,’ उनले भने ।
यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको उनले जानकारी दिए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने पनि मुख्यसचिव अर्यालले बताए ।
नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसावले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यु लियौँ । अर्को वर्ष अरु अरु थिममा हामी जानेछौँ,’ उनले भने ।
मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको जानकारी गराए ।सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ ।खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ ।हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी गराइएको छ ।सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।