
जनकपुरधाम, ४ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिनु हास्यास्पद र दोषपूर्ण रहेको नेपाल शिक्षक संघ मधेश प्रदेश समितिले टिप्पणी गरेको छ ।
शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि मुख्यमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भय रहित वातावरणमा परीक्षा सञ्चालन गर्ने हाम्रो पनि चाहना रहँदा रहँदै पनि मधेश प्रदेश सरकारले नियम विपरीत परीक्षा सञ्चालन गर्न खोज्नु हास्यापद र दोषपूर्ण रहेको उल्लेख गरेका छन् ।
जारी विज्ञप्तिमा अगाडि भनिएको छ–‘राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीषकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखि परीषाको मुखमा गोलाप्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो सम्वेदनशीलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भत्र्सना गर्दछौं ।’
शिक्षक संघ मधेश प्रदेश समितिले मुख्यमन्त्रीको चेतावनीको विरुद्धमा चेतावनी दिँदै एसईई नियम विपरीत केन्द्राध्यक्ष तोक्ने प्रयास गरिए आफूहरु मधेश प्रदेशका आठ बटै जिल्लामा वहिस्कार गर्ने बाध्यहुने चेतावनी दिएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथावाट हुनुपर्ने नत्र हामी एसईई परीक्षाको कार्यबाट बाहिरिने चेतावनी दिएका थिए । मधेश प्रदेश सरकारले शिक्षा मन्त्रालय रहेको पनि माध्यमिक तह सम्मको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंह मुख्यमन्त्रीमा नियुक्त भएपछि यहाँका विद्यालय, शिक्षक कर्मचारी, विद्यार्थीको स्तरउन्नती गर्नुको साटो काठमाडौं स्थित बुढानिलकण्ठ स्कुललाई व्रान्च खोल्न आग्रह गरेका थिए । प्रदेश सरकारले चालु आर्थिक बर्षमा मन्त्रालय तह अनुसार छुट्टाएका बजेटमा शिक्षा मन्त्रालयलाई पाँच मन्त्रालय भन्दा कम बजेट दिएको छ ।