बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।
मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको जनाइएको छ ।
प्रदेश सरकारले वर्ष भरि शिक्षालाई लिएर कुनै गतिविधि नगर्दा अहिले चर्चा पाउनकालागि अनावश्यक विवाद झिकेर परीक्षालाई प्रभावित पार्ने हिसावको प्रस्ताव राखेको शिक्षा विद्हरुको भनाई छ । सरकारले अहिले सम्म कतिवटा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याएका छन् भनेर उनीहरुले प्रश्न समेत तेर्साउन थालेका छन् ।
मधेश प्रदेश सरकारले चालु आर्थिक बर्षमा शिक्षामा अत्यन्तै कम बजेट विनियोजन गरेका छन् भने भौतिक पूर्वाधार लगायत निर्माण कार्यकालागि सवै भन्दा बढी बजेट विनियोजन गरेपछि जनमत नेतृत्वका मधेश सरकारको व्यापक आलोचना भएको थियो । शिक्षाविद्हरु भन्छन्–‘जनमत पार्टीका अध्यक्ष सीके राउत बैज्ञानिक भएर पनि शिक्षाको महत्व बुझ्न सकेन् ।’
मधेश प्रदेश सरकार संग पैसा हुँदाहुदै काठमाडौँको बुढानिलकण्ठ विद्यालयलाई मधेश प्रदेशमा ब्रान्च खोल्न आग्रह गरेका मुख्यमन्त्री सिंहलाई उनीहरु मधेश प्रदेशका विद्यालयलाई बुढानिलकण्ठ किन बनाउन नसकेको भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री सिंहले प्रदेश सरकारबाट हुने कामकारवाही भन्दा बढी सस्तो लोकप्रियता कमाउनकालागि यस्ता यस्ता स्टन्टहरु गरिरहेको शिक्षाविद्हरुको टिप्पणी छ ।
प्रदेश सरकारले आफ्ना बजेट कति प्रतिशत कहाँ खर्च गरे, आगामी योजना के छ ? कसरी प्रदेश सरकार चलाएको छ ? लगायतका बिषयमा कहिल्लै कुनै पत्रकार सम्मेलन नगरी अहिले गरेको पत्रकार सम्मेलनलाई स्टन्टबाजीनै भन्ने बुझिए उनीहरु बताउँछन् ।