
रामगोपालपुर, ८ चैत । मधेसका पूर्व कानून राज्यमन्त्री एवं प्रदेश सांसद सरोेजसिंह कुशवाहाले महोत्तरीमा सलहेश मन्दिर निर्माण कार्य शुभारम्भ गरेका छन् ।
शुक्रबार एक कार्यक्रमबीच सांसद कुशवाहाले सम्सी गाउँपालिका वडा नं. ५ पोखरभिन्डामा निर्माण कार्य अधुरो रहेको सो मन्दिरको निर्माण कार्य पुजापाठ गरी विधिवत् रुमा शुभारम्भ गरेका हुन् ।
सलहेश मन्दिरको आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ । सांसद कुशावाहाले भने, ‘धार्मिक आस्थाका प्रतीक राजा सलहेशले सामाजिक एकता र सांस्कृतिक पहिचानको स्थायित्व प्रदान गर्दछ ।’
सांसद कुशवाहाको संसदीय कोषबाट २५ लाखको लागतमा सो मन्दिरको निर्माण हुँदैछ । मन्दिर निर्माण कार्यको शुभारम्भ भएपछि स्थानीयहरु खुशी भएका छन् ।
स्थानीयहरुले मन्दिर निर्माण कार्यलाई ऐतिहासिक उपलब्धी ठानेका छन् । उनीहरुले मन्दिर निर्माण कार्यले यस क्षेत्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा योगदान पुर्याउने आशा व्यक्त गरे ।
उक्त वडाका वडाअध्यक्ष कैलाश यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न मन्दिर शुभारम्भ कार्यक्रममा रामगोपालपुर नगर कमिटी सह–संयोजक विजय यादव, उमेश यादव, मुकेश पासमान लगायतका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो ।