
सिरहा, ९ चैत । सिरहाको औरहीमा महायज्ञ विथोल्न धर्म विरोधीहरु सक्रिय भएका छन् । दलितको मुद्दा उठाएर महायज्ञ विथोल्ने षडयन्त्र भइरहेको छ ।
दलित परिवारलाई विस्थापित गरेको झुठा आरोप लगाउँदै मिडियाबाजी गरेका सनातनी धर्म विरोधीहरुले महायज्ञ विथोल्ने दाउमा छन् ।
दलित परिवार भनिएको दिपक मलिकको घर महायज्ञ स्थलबाट अन्यत्रै सारिएको छ । उनलाई घरसमेत बनाएर दिएको छ । त्यहीं घरमा दिपक लगायत उनका परिवारको सदस्यहरु बस्दै आइरहेका छन् ।
त्यहाँ काम गर्ने अधिकांश कामदारहरु दलितहरु छन् । उनीहरुले दिपकको सहमतिमै घर सारिएको बताउँछन् । दिपकलाई आश्रय दिएकै छन् । कसले र किन यसरी सामाजिक सद्भाव भड्काउने काम गरे ? तिनीहरुको पनि खोजी भइरहेको छ, स्थानीयहरुले बताए ।
अहिले दिपकलाई उस्काएर मिडियाबाजी गरेका उनीहरुले नै दिपकलाई असुरक्षित रहेको भनेर अन्यत्रै बस्न लगाएको हुन सक्ने महायज्ञ स्थलमा रहेका कामदारहरु बताउँछन् ।
दिपकको घर भएको ठाउँमा माटो हटाइएको भनेर जनतामा भ्रम फैलाइँदै छ । त्यस ठाउँको माटो नजिकै थुप्रो बनाई हनुमानका मूर्ति बनाइँदै छ । जग्गा सम्म बनाउन त्यहाँको माटो ताछेको महायज्ञमा काम गर्ने महिलाहरु बताउँछन् ।
औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले महायज्ञलाई बदनाम गर्ने उद्देश्यले मिडियाबाजी गरेको छ । कबुलीसँगै केही सञ्चारकर्मीहरुले पनि महायज्ञलाई निशाना बनाए ।
दलित र डोम समुदायको उठिबास् भनेर भ्रामक प्रचार किन भयो ? त्यस विषयमा बास्तवमा दिपक मलिकको उठिबास् वा विजोग भएको छ कि छैन । गम्भीर अनुसन्धान गर्न माग गरिएको छ ।
पत्रपत्रिका र अनलाइन पत्रिकाहरुमा एकहोरो समाचार आइरहेको छ । दलितको नाम भजाउने काम भइरहेको बुझ्नमा आएको छ । सनातन धर्मालम्बीहरु भन्छन्, ‘यदि कसैले त्यसो गरेको हो भने त्यस्ता सामाजिक सद्भाव भड्काउनेहरुमाथि पनि प्रहरीले अनुसन्धान अगाडि बढाउनु पर्छ ।’
के भन्छन् सनातन धर्मालम्बीहरु ?
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन् ।
महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछुतको झुट्टा आरोप लगाई यज्ञलाई बिथोल्ने काम भइरहेको आरोप लगाएका छन् ।
गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडा अध्यक्ष र बजरंगी बाबालाई लक्षित गरी कम्युनिष्ट पार्टी, केही दलित अगुवा र विदेशी धर्मका ठेकेदारहरुले मिलेर फसाउन खोजेको स्थानीयहरुको भनाइ छ ।
हिन्दु सनातन धर्मावलम्बीहरुले आफ्नो धार्मिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध गर्दै आएका छन् । यज्ञको सन्दर्भमा कान्तिपुर लगायतका केही संचारमाध्यमहरुले बदनियतपूर्वक समाचार सम्प्रेषण गरेको भन्दै ती पत्रिकाहरूको प्रतिकात्मक रूपमा जलाएर विरोध गरिएको छ ।
महायज्ञको लागि हालसम्म तयारीमा खटिएका अधिकतर कामदार दलित समुदायकै रहेको जनाउँदै आयोजकले छुवाछुतको कुनै घटनै नभएको प्रस्ट पारेका छन् । महायज्ञमा सहभागी दलित महिला र पुरुष कामदारहरुले पनि आफूहरुमाथि कुनै प्रकारको छुवाछुत नभएको दाबी गर्दै काम गर्न सहज वातावरण रहेको बताएका छन् ।
आयोजक पक्षका अनुसार डोम समुदायलाई अगाडि सारेर जातीय विभेदको मुद्दा उठाई गाउँपालिका अध्यक्षलाई पदबाट हटाउने षडयन्त्र गरिएको छ । यदि छुवाछुत नै भएको भए अन्य दलित समुदायका महिलाहरुलाई काममा लगाउनुपर्ने आवश्यकतै नरहने स्पष्ट पारिएको छ ।
दलित आयोगबाट केही घण्टामै पक्राउ पूर्जी जारी गराउन दबाब दिइएको र शिवजी यादव, पूर्व वडाध्यक्ष तथा त्यागी बाबामाथि गिरफ्तारी हुनु पूर्णरूपमा षडयन्त्र रहेको आरोप लगाइएको छ ।
अन्य दलितमाथि भएको घटनामा नबोल्ने आयोग र दलित अगुवाहरुले यस मामिलामा मात्र सक्रियता देखाउनु पूर्व नियोजित योजनाको हिस्सा भएको स्थानीय गणेश यादवले बताएका छन् ।
यज्ञ सफल नहोस् भन्ने उद्देश्यले जातीय विभेदको मुद्दा उठाइएको भन्दै आयोजकले कडा प्रतिक्रिया दिएका छन् । यज्ञ रोक्न खोज्ने तत्वहरूलाई चेतावनी दिँदै महायज्ञ भव्य तरिकाले सम्पन्न गरिने बताइएको छ ।
यता, प्रहरी प्रशासनले आन्दोलनमा सहभागी ६ जनालाई नियन्त्रणमा लिएको छ भने हालसम्म ग.पा अध्यक्ष र पुर्व वडा अध्यक्ष सहित ८ जना पक्राउ परेका छन् । महायज्ञमा सहभागी कामदार र स्थानीय सनातन धर्मावलम्बीहरुले यज्ञ नरोकिने अठोट व्यक्त गर्दै सबैलाई सहभागिताको आह्वान गरेका छन् ।